जनकपुरधाम – भारतको बिहार राज्यमा भइरहेको निर्वाचनका लागि मधेस प्रदेशसँग जोडिएको सीमानाका भोलिदेखि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गर्दै भोलि साँझ ६ बजेदेखि मंगलबार साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाएको हो।
बिहार राज्यमा विधानसभा निर्वाचन अन्तर्गत मंगलबार दोस्रो चरणको मतदान हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमानाका बन्द गर्न लागिएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले भोलि साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म नेपाल–भारत सीमानाकामा मानवीय/आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रुपले बन्द रहने जनाएको छ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय महोत्तरी र रौतहटले समेत एक सूचना जारी गर्दै बिहार राज्यको सितामढी तथा पूर्वी चम्पारण जिल्लामा दोस्रो चरणको विधानसभाको निर्वाचन हुने भएकाले सीमानाका बन्द हुने जनाएको छ।यसअवधिमा नेपाल–भारत सीमानाकामा मानवीय/आकस्मिक सेवा बाहेकका आवागमन बन्द रहने जनाएको छ।
यता नेपाल–भारत सीमानाका बन्द हुने भएपछि बिजलपुर–कुर्था–जनकपुरधाम–जयनगर रेल सेवा समेत बन्द हुने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडले सीमानाका बन्द हुने भएकाले भारतको जयनगरसम्म पुग्ने रेल सेवा बन्द हुने जनाएको छ। सीमानाका खुलेपछि पुनः सेवा सुचारु हुने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।