काठमाडौं– फ्रान्क केस्सीले खेलको इन्जुरी समयमा गरेको गोल मद्दतले क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रियल मड्रिडलाई पराजित गरेको छ। घरेलु मैदानमा बार्सिलोनाले रियलविरुद्ध २–१ गोलको जित निकाल्यो।
अल क्लासिकोमा प्राप्त यस जितसँगै लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ। लिगमा १२ चरणको खेल बाँकी छँदै बासिलोना लिग उपाधितर्फ उन्मुख देखिएको छ।
बार्सिलोनाले २६ खेलबाट ६८ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडले २६ खेलबाट नै ५६ अंक जोडेको छ।
स्पोटिफाइ क्याम्प नोउमा आइतबार राति भएको खेलको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोल गर्दा बार्सिलोना १–० ले पछि परेको थियो। ४५औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–१ गोलको बराबरीको स्थितिमा ल्याए।
रियलका मार्को एसेन्सियोले ८१औं मिनेटमा गरेको प्रहार पोस्ट भित्रबाट जाली चुम्न सफल भयो। तर, भिडिओ असिस्टेन्ट रेफ्री (भार)बाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुक्यो।
बराबरीतर्फ धकेलिएको खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले एलेक्स बाल्डेको पासलाई गोलमा परिणत गरे। अन्तिम समयमा केस्सीले गरेको गोलले नै बार्सिलोना विजयी बन्यो।
आइतबार राति समेत गरी रियल मड्रिडले बार्सिलोनासँग लगातार तेस्रो हार बेहोरेको छ। १६ अक्टोवर २०२२ मा ३–१ गोलको जित निकाले यता रियलले जित निकाल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।