काठमाडौं– इटालियन क्लब इन्टर मिलान करिब १२ वर्षपछि युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। प्रि–क्वाटरफाइनल लेगमा पोर्चुगिज क्लब एफसी पोर्टोसँग समग्रमा १–० को जित निकाल्दै इन्टर मिलानले क्वाटरफाइनलको यात्रा तय गरेको हो।
मंगलबार राति भएको दोस्रो प्रि–क्वाटरफाइनल लेगमा भने इन्टर मिलानले गोलरहित बराबरी खेल्यो। सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० गोलको जित नै इन्टर मिलानका लागि अन्तिम ८ मा पुग्ने आधार बन्यो।
घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा पोर्टोले इन्टर मिलानलाई चर्को दबाबमा राखेको थियो। तर, इन्टरका गोलरक्षक आन्द्रे ओनानाको उत्कृष्ट प्रदर्शनका कारण पोर्टोले गोल निकाल्न सकेन।
पोर्टो सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो।
युईएफए च्याम्पियन्स लिगमा अब क्वाटरफाइनल पुग्ने अन्तिम २ टोलीको टुंगो लाग्न बाँकी छ। रियल मड्रिड र लिभरपुल तथा नापोली र आइनट्राख्ट फ्रान्कफुटमध्येबाट २ टोली क्वाटरफाइनलमा पुग्नेछन्।
पहिलो लेगमा लिभरपुलविरुद्ध रियल ५–२ गोलले अघि छ। यस्तै, आइनट्राख्टविरुद्ध नापोली २–० ले अघि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।