बारा– जगदम्बा स्टिलस्को मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करण चैत्र ९ देखि आयोजना हुने भएको छ। सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताबारे सोमबार आयोजक नव जनजागृति युवा क्लबले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो।
प्रतियोगितामा ५ ए डिभिजन क्लब र ५ मोफसलका गरी १० टिमको सहभागिता रहनेछ। साविक विजेता न्यूरोड टिम एनआरटी, एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो यूथ क्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौँडा, बागमती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड क्लब र आयोजक नव जनजागृति युवा क्लबले प्रतियोगिता खेल्नेछन्।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्। यस्तै विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलस्का तर्फबाट कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। चैत्र १८ सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी तथा रङ्गशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।