काठमाडौं– मंगलबार माइतीघर मण्डलामा ७७ वटै जिल्लाका हजारौं लघुवित्त पीडित र मिटरब्याज पीडित आन्दोलनमा उत्रिए। उक्त आन्दोलन लघुवित्त संघर्ष समिति र मिटरब्याज पीडित संघर्ष समितिको सहकार्यमा वित्तीय संस्थाहरु खारेज गर्न, ऋण मिनाहा माग राखेर भएको हो।
आन्दोलनमा बोल्दै लघुवित्त संघर्ष समितिकी केन्द्रीय उपाध्यक्ष विष्णु बुढाथोकीले ऋण लिए भन्दैमा लघुवित्तले मर्न बाध्य बनाएर ज्यादती गरेको बताइन्। ‘उसैले दिएर खाएको हो, हामीले मागेर खाएका होइनौं। यस्तो ऋण तिर्नपर्छ भन्ने छैन। सम्पूर्ण लघुवित्त पीडित दिदीबहिनीहरु आजैबाट ऋण तिर्न बन्द गर्नुस्,’ उनले भनिन्।
यस्तै लघुवित्त पीडित संघर्ष समितिको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले लघुवित्त र मिटरब्याज पीडितहरुलाई ऋण मिनाहा गराउने आश्वासन दिए । साथै उनले ऋणीहरुलाई लघुवित्तहरुबाट लिएको ऋण नतिर्नसमेत अपिल गरे।
‘आजसम्म जति ऋण तिर्नुभयो, आजदेखि ऋण तिर्न बन्द गर्नुस्। यसरी आन्दोलनमा मलाई साथ दिँदै गर्नुस्। तपाईंहरुको ऋण मिनाहा गर्न सरकार आफैं तयार हुने छ,’ उनले भने।
त्यही आन्दोलनमा सहभागी हुन आएकी रौतहटकी कुसुम्बती सदायले ‘लघुवित्तको ऋण मिनाहा हुन्छ त?’ भन्दै आफ्नो छेउमा उभिएका एक व्यक्तिलाई प्रश्न गरिन्। ती व्यक्तिले आफू जानकार नभएको इसारा दिएर अगाडि फर्किए।
सुकुम्बतीले ऋण मिनाहा हुने आशाले आन्दोलनमा आएको बताइन्। उनले मिटरब्याजबाटसमेत ऋण लिएको सुनाइन्। उनका श्रीमान्ले पाँचवर्ष अघि छोरीको विवाह गर्न ४ कट्ठा खेत दृष्टिबन्धक राखेर पाँच लाख रुपैयाँ मिटर ब्याजमा ऋण लिएका थिए।
त्यसको दुई वर्षपछि मिटर ब्याजको साहुले ऋण बढेर १२ लाख पुगेको सुनाए। ऋण तिर्न भन्दै तारन्तार धम्क्याउन थाले। उनीहरुले तत्काल ऋण तिर्न सक्ने अवस्था थिएन। त्यस दिन उनीहरुले एक/दुई दिनमा तिरौंला भनेर पठाए। त्यसपछि साहु ऋण माग्न दिनदिनै जसो आएर किचकिच गर्न लागे।
सुकुम्बतीले मिटर ब्याजको ऋण तिर्नलाई स्वावलम्बी लघुवित्तबाट पाँच लाख ऋण लिइन्। ‘पूरै तिर्न नसके पनि साहुलाई अल्झाउने मेसो हुन्छ भनेर ऋण लिएँ,’ उनी सुनाउँछिन्।
सहज होला भनेर लिइन् तर लघुवित्तले ४० हजार रुपैयाँ उनको नाममा धितो राख्ने भन्दै चार लाख ६० हजार रुपैयाँ दियो र ऋणमा १८ प्रतिशत चर्को ब्याज लगायो। महिनामा १५ हजार रुपैयाँका दरले उनले एक वर्षमा एक लाख ८० हजार बल्लतल्ल बुझाइन्। अब बाँकी तीन लाख १० हजार त सावाँ नै छ।
सावाँ ब्याज जम्मा गर्दा ऋण कति त्यसबारे आफू जानकारसमेत नभएको उनले बताइन्। लघुवित्त र मिटर ब्याजको ऋण तिर्दातिदै आफू थला परेको उनी बताउँछिन्।
‘न मिटर ब्याजको ऋण तिर्न सकेँ न यता लघुवित्तको। उता मिटर ब्याजको ऋण उत्तिकै बढेको छ यता लघुवित्तको। सरकारले ऋण मिनाहा गरिदिए हामी गरिबले शान्ति पाउँथ्यौं,’ उनी सुनाउँछिन्।
उनीसँगै छेउमा बसेकी कौसिलदेवि सदायले पनि मिटरब्याजको ऋण तिर्न लघुवित्तबाट ऋण लिएको सुनाइन्। उनले तीन वर्षअघि एक लाख रुपैयाँ ऋण लिएकी थिइन्। त्यसको दुई वर्षपछि मिटरब्याजी साहुले एक लाखको बढेर ४ लाख रुपैयाँ पुगेको सुनाए।
त्यसपछि साहुले एक महिनाभित्र ऋण नतिरे घरजग्गा लिलाम गर्ने धम्की दिए। साहुको धम्कीपछि उनले दुई वर्षभित्रमा तिर्नेगरी मासिक १५ हजार बुझाउने शर्तमा लघुवित्तबाट तीन लाख ऋण लिइन् र मिटरब्याजको साहुलाई बुझाइन्।
‘उता मिटरब्याजको ऋण अहिले बढेर फेरी ३ लाख पुगेको छ। यता लघुवित्तमा दुई लाख बाँकी छ। त्यसको ब्याज बढेर कति पुग्यो तिर्न सकेको छैन,’ उनी सुनाउँछिन्।
यस्तै आन्दोलनमा सप्तरीदेखि आएकी रेश्मी चौधरीले लघुवित्तले चर्कोब्याज लिएर ज्यादती गरेको गु्नासो गरिन्। ‘कि ब्याज दर घटाउनुपर्यो। हैन भने सरकारले ऋण मिनाहा गर्नुपर्यो’, उनी भन्छिन्, ‘मैले धेरै ऋण लिएको छैन। मेरो जम्मा एक लाख हो तर मैले १८ प्रतिशत ब्याजमा एक वर्षमा दोब्बर तिर्नुपर्ने अवस्था छ। यो अति चर्को भयो। हामी सोझासिधा महिलालाई फसाएर चर्को ब्याज लिने लघुवित्त सरकारले खारेज गरोस् भन्ने माग हो हाम्रो। तर सरकारले खारेज गर्न सक्दैन भने ऋण मिनाहा गरोस्। नभए पनि ब्याज त घटाउनै पर्छ।’ उनले आफ्ना छिमेकी महिलाहरु त घर छाडेर हिँड्न बाध्य भएकोसमेत सुनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।