काठमाडौं– जावलाखेल युथ क्लबलाई पराजित गर्दै फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकाल्दा नवप्रवेशी चर्च ब्वाईज र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो। फ्रेन्ड्सको जितमा राफिक एमिनु र प्रकाश बुढाथोकीले एकएक गोल गर्दा जावलाखेलका फोडे फोफानाले सान्तोवना गोल फर्काएका थिए।
टोलीमा विदेशी खेलाडी भित्र्याएसँगै उच्च मनोबलका साथ खेलेको फ्रेन्ड्सले खेलको १९ औं मिनेटमा अग्रता निकालेको थियो। प्रतिष्पर्धात्मक बनेको खेलमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए।
कप्तान प्रकाश बुढाथोकीले प्रहार शसक्त बल रोक्ने क्रममा जावलाखेलका गोलकिपर अनिश देउलाले पन्च गर्दै फालेको रिबाउण्ड बलमा राफिकले गोल गरेका हुन्।
त्यसपछि दबाब दिएर खेलेको फ्रेन्ड्सले ४० औं मिनेटमा अग्रता दोब्बर बनायो। कप्तान प्रकाशले लक्ष्मण रुचालले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाएका हुन्।
पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा फ्रेन्ड्सले पहिलो हाफको लयलाई निरन्तरता दिन सकेन। पछि परेको जावलाखेल खेलमा फर्किन अनेकौं प्रसास गर्दा ८७ औं मिनेटमा अग्रता छोट्याएको थियो।
जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल अन्तर घटाएका थिए। फ्रेन्ड्सका अमित तामाङले जावलाखेलका समिराज थोकरलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जवालाखेलले पेनाल्टीको अवसर पाएको थियो।
इन्जुरी समयमा जवालाखेलका कप्तान सिमान्त थापा दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो। फ्रेन्ड्सका राफिकलाई कुहिनाले हान्दै लडाएपछि रेफ्री विश्वास कार्कीले उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए।
यस जितसँगै पहिलो जित निकालेको फ्रेन्ड्सले ४ खेलमा ४ अंक जोडेको छ। जावलाखेलको यो पहिलो हार हो। जावलाखेलले ४ खेलमा ७ अंक जोडेको छ।
लिग अन्तर्गत मंगलबार नै एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। चर्च ब्वाईजमा अञ्जन बिष्टको आगमन भएको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो।
दुवै टोलीले खेल अवधिभर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएका थिए। यससँगै यसै सिजन बढुवा भएको चर्च ब्वाइजले जारी लिगमा पहिलो बराबरी खेलेको छ। यसअघि चर्चले अघिल्लो तीन खेलमा सुखद् नतिजा निकाल्दै शीर्षता कायम राखेको थियो। चर्च ब्वाइज ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। संकटाले ४ खेलमा ५ अंक जोडेको छ।
लिगमा बुधबार दुई खेल हुनेछन्। पहिलो खेल च्यासल मैदानमा विभागीयद्वय त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ क्लब तथा दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी फुटबल क्लबबीच खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।