काठमाडौं– इटालियन फुटबल क्लब एसी मिलान इटालियन सिरी ‘ए’ मा बराबरीमा रोकिएको छ। सोमबार राति घरेलु मैदानमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा एसी मिलान सालेरनिटानासँग १–१ गोलको बराबरीमा रोकियो।
ओलिभर जिरुडले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको थप गरिएको समयमा स्माइल बेनाकरको पासमा जिरुड गोल गर्न सफल भएका थिए।
तर, दोस्रो हाफमा सालेरनिटानाले खेललाई बराबरीमा ल्यायो। सालेरनिटानाका बोउलाए डियाले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। खेलको ६१औं मिनेटमा डोमागोज ब्राडारिकको पासमा उनी गोल गर्न सफल भए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो।
सोमबार रातिको बराबरीसँगै तेस्रो स्थानमा उक्लिने मिलानको योजनामा ब्रेक लाग्यो। मिलान २६ खेलबाट ४८ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ। तेस्रो स्थानको लाजियोको ४९ अंक छ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको नापोलीले २६ खेलबाट ६८ अंक छ। सालेरनिटाना भने २६ अंक जोडेर १६औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।