काठमाडौं– साविक विजेता मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दै सहिद स्मारक ए डिभिजन लिग तालिकामा पहिलो अंक जोडेको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा मच्छिन्द्रले मनाङलाई रोक्दै तालिकामा खाता खोलेको हो।
निकै रोमाञ्चक बनेको खेलमा दुवै टोली केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न असफल भएका थिए। यस बराबरीसँगै मनाङको तीन खेलबाट ५ अंक भएको छ। यसअघि मछिन्द्रले जावलाखेल युथ क्लबसँग ३–१ र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ३–१ को पराजय व्यहोरेको थियो। मनाङले हिमालयन शेर्पासँग १–१ को बराबरी खेल्दा संकटा क्लबलाई १–० ले पराजित गरेको थियो।
लिग अन्तर्गत आइतबारकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले न्युरोड टिम (एनआरटी) सँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँड्यो। च्यासल मैदानमा खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए।
५२ औं मिनेटमा लालनुनजामाले एनआरटीलाई १–१ को बराबरीमा ल्याएको खेलमा ५७ औं मिनेटमा जिन एन्सर एमबोउमीले पेनाल्टीमार्फत् गोल गर्दा एनआरटी २–१ ले अघि बढ्यो। ६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई ३–१ को अवस्थामा पुर्याए पनि ६८ औं मिनेटमा आर्मीका सुदिल राईले गोल गरेपछि खेल ३–२ को स्थितिमा आएको थियो।
८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत् गोल गर्दै आर्मीको हारलाई टारेका थिए। बराबरीपछि आर्मीको तीन खेलबाट ५ अंक भएको छ। यस्तै एनआरटीको ३ खेलबाट १ अंक छ। यसअघि संकटा क्लबसँग गोलरहीत बराबरी खेलेको आर्मीले साविक विजेता मच्छिन्द्रलाई २–० ले पराजित गरेको थियो। यसैगरी एनआरटीले सातदोबाटो युथ क्लव र जावलाखेल युथ क्लवसँग समान २–१ को पराजय व्यहारेको थियो।
लिगमा सोमवार पनि दुई खेल हुनेछन्। च्यासल मैदानमा आयोजना हुने खेल हिमालयन शेर्पा र खुमलटार युथ क्लव तथा दशरथ रंशालामा हुने खेल सातदोबाटो युथ क्लब र थ्री स्टार क्लवबीच हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।