काठमाडौं– खुमलटार युथ क्लबलाई हराउँदै ललितपुरे टोली थ्री स्टार क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा थ्री स्टारले खुमलटार युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो।
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा थ्री स्टारले दोस्रो हाफमा मात्र गोल निकाल्न सफल भएको थियो। थ्री स्टारको जितमा अजयी मार्टिन्सले नै दुई गोल गरेका हुन्।
पहिलो हाफमा पनि थ्री स्टारले खुमलटारमाथि दबाब दिएर खेले पनि स्कोर गर्न भने असफल भएको थियो। दोस्रो हाफमा थप आक्रामक देखिएको थ्रीस्टारका लागि ५४ औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ८३ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित निश्चित गरेका थिए। यससँगै थ्री स्टारले तेस्रो खेलमा पहिलो स्पष्ट जित निकाल्न सफल भएको हो।
जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ। यसै सिजन बढुवा भएको खुमलटारले भने दोस्रो हार भोगेको छ। खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ।
लिगमा शनिबार तीन खेल हुनेछन्। दिनको पहिलो खेल च्यासल मैदानमा विभागीय टोली नेपाल पुलिस क्लव र संकटा क्लब, दोस्रो खेल दशरथ रंगशालामा एपिएफ क्लब र जावलाखेल युथ क्लब तथा अन्तिम खेल साँझ दशरथ रंगशालामा नै फ्रेन्ड्स र सातदोबाटो युथ क्लबबीच हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।