काठमाडौं- विश्वकपमा अनियमित किसिमले टिकट बिक्री-वितरण गरेको आरोपमा घेरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीको विषयमा फिफा गम्भीर देखिएको छ।
नेपाल ओलम्पिक कमिटीका एक पूर्वअधिकारीले नेपाल लाइभलाई यसको जानकारी दिँदै भने, ‘कतारमा हालै भएको सेमिनारमा फिफा पदाधिकारीसँग भेट भएको थियो। उनीहरूले विश्वकपको टिकट बिक्री सम्बन्धमा फिफा गम्भीर भएको र यसलाई छानविनको दायरामा ल्याउने बताएका थिए।’
फिफाले आफ्ना सबै सदस्य राष्ट्रलाई विश्वकपका लागि टिकट उपलब्ध गराउने गर्छ। उसले सदस्य राष्ट्रका फुटबल समर्थक, क्लबका पदाधिकारी, खेलाडी, प्रशिक्षकहरू फुटबल विकासको अभियानमा थप ऊर्जा बोकेर सक्रिय होउन् भन्ने उद्देश्यले टिकट उपलब्ध गराउँदै आएको छ।
यसै सन्दर्भमा एन्फालाई यसपालि फिफाले २ सय ९० टिकट उपलब्ध गराएको थियो। तर ती टिकट अपारदर्शी रूपमा एन्फाले बिक्री गरेको भन्दै आलोचना भएको थियो। अझ, काठमाडौंबाट प्रकाशित हुने एक अंग्रेजी राष्ट्रिय दैनिकले एसियाली फुटबल महासंघ (एएफसी) बाट अनूचित लाभ लिन एन्फाले एएफसीसम्बद्ध अधिकारीलाई आफ्नो कोटाको ७५ वटा टिकट उपलब्ध गराएको खुलासा गरेको थियो।
एन्फाले अहिलेसम्म यो विषयमा ठोस जानकारी दिन सकिरहेको छैन। एन्फा महासचिव किरण राई र प्रवक्ता सुरेश साहले बीबीसी नेपालीलाई दिएको छोटो प्रतिक्रियामा एन्फाको बचाउ गर्दै भनेका थिए, ‘नेपालले २ सय १५ वटा टिकट मात्र प्राप्त गरेको हो। बाँकी ७५ वटा टिकट एएफसीले लिएको थियो। उनीहरूको यो प्रतिक्रियापछि फिफा गम्भीर भएको हो। एएफसीले नेपालको कोटा काटेर टिकट दिएको हो कि, एन्फाले उपलब्ध गराएको हो, यसको छानविन हुँदैछ,’ ती पदाधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताए।
एन्फाले टिकट प्राप्त गर्ने व्यक्तिको नाम सार्वजनिक गर्ने जानकारी दिए पनि हालसम्म कुनै सूचना उपलब्ध गराएको छैन। एन्फाको ‘टिकट काण्ड’ विरूद्ध फिफामा उजुरी पनि परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।