काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन्। खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुके।
खेल बराबरीमा रोकिएसँगै दुवै टोलीले पहिलो खेलमा १–१ अंक बाँडेका छन्। त्यस्तै आज नै च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लबले जत हासिल गरेको छ।
सातदोबटोले न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै जित हासिल गरेको हो। सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे। एनआरटीका निकोलस सङले एक गोल फर्काए।
खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए।
८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए। जितसँगै सातदोबाटोले पहिलो खेलबाट ३ अंक जोडेको छ।
अहिले दशरथ रंगशालामा मछिन्द्र र जावलाखेल क्लबबीच खेल भइरहेको छ। खेलको पहिलो हाफमा मछिन्द्र क्लबले १—० को अग्रता लिएको छ। खेलको २३ औं मिनेटमा देवेन्द्र तामाङले फ्रिकिमार्फत् उत्कृष्ट गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।