काठमाडौं– विभागीय टोली एपीएफ क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सुखद् सुरुवात गरेको हो।
एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक/एक गोल गरे। खेलको ७२ औं मिनेटमा मणिले फ्रिकिकमार्फत् गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ८६ औं मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए। जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ।
त्यस्तै आज नै च्यासल रंगशालामा भएको खेलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले स विजयी सुरुवात गरेको छ। च्यासल मैदानमा शनिबार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक/एक गोल गरे। पुलिसका रवि पासवानले एक गोल फर्काए। खेलको १४औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता लिए पनि त्यसलाई बचाउन नसक्दा हार व्यहोर्न बाध्य भयो।
पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै चर्चलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि खेलको ७०औं मिनेटमा फ्रान्कलिनले पेनाल्टीमा गोल गर्दै चर्चलाई २–१ को जित दिलाए।
जितसँगै चर्चले पहिलो खेलमै ३ अंक जोडेको छ। अहिले दशरथ रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पाबीच खेल भइरहेको छ।
पहिलो हाफ सकिँदा मनाङले १—० ले अग्रता बनाएको छ। खेलको १५औं मिनेटमा हिमालयन शेर्पाका सञ्जित राईले आत्मघाती गोल गर्दा मनाङले अग्रता लिन सफल भएको हो। अहिले दोस्रो हाफको खेल जारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।