काठमाडौं- नवप्रवेशी एफसी खुमलटारले सहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले सुखद् सुरुआत गरेको हो। खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरेका थिए। उनले ८९ औं मिनेटमा आएर गोल गरेका थिए।
खेलको १८ औं मिनेटमा श्यामबाबु क्यापछाकीको क्रसमा फ्रेण्ड्सका उत्तम राईले पोस्ट नजिकबाट बाहिर प्रहार गरे। खेलको ७२औं मिनेटमा १८ यार्ड नजिकबाट खुमलटारका स्टेफन समिरको फ्रिकिक पोस्ट बारमा लागेर फर्किएको थियो। ७५औं मिनेटमा खुमलटारका मेसुके ओलुमोउको डिबक्स भित्रको हेडर फ्रेण्ड्सका गोलकिपर राजाबाबु थापाले बचाएका थिए।
८०औं मिनेटमा फ्रेण्ड्सका लक्ष्मण रुचालको फ्रिकिकमा उत्तम राईको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो। जितसँगै खुमलटारले पहिलो खेलमा ३ अंक जोडेको छ। तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ।
लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ। यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ। यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।
फेयर प्ले टोलीले ३ लाख पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।