काठमाडौं– इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले एभर्टनमाथि सानदार जित हासिल गरेको छ। इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति भएको खेलमा आर्सनलले एभर्टनलाई ४–० ले हरायो।
आर्सनलका लागि गाब्रिएल मार्टिनेलीले २ तथा बुकायो साका र मार्टिन ओडेगार्डले समान १–१ गोल गरे। खेलको ४०औं मिनेटमा गोल गर्दै बुकायो साकाले आर्सनललाई अग्रता दिलाए। उनले ओलेक्सन्डर जिनचेन्कोको पासमा गोल गरे।
पहिलो हाफको थप गरिएको समयमा आर्सनलले अर्को गोल थप्यो। बुकायो साकाको पासमा गाब्रिएल मार्टिनेलीले गोल गर्दै पहिलो हाफ अगाडि नै आर्सनललाई २–० को अवस्थामा पुर्याए।
खेलको ७१औं मिनेटमा लियान्द्रो ट्रोससार्डको पासमा मार्टिन ओडेगार्डले गोल गरे। त्यसपछि ८०औं मिनेटमा मार्टिनेलीले इडवार्ड एनकेइटाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे।
बुधबार रातिको जितसँगै आर्सनलले अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ५ अंकको अग्रता लिएको छ।
यस जितसँगै आर्सनलले शीर्षस्थानमा म्यानचेस्टर सिटीमाथि ५ अंकको स्पष्ट अग्रता कायम गर्न सफल भएको छ। आर्सनलको २५ खेलबाट ६० अंक पुगेको छ। समान खेलबाटै सिटीको ५५ अंक छ। पराजित एभर्टन २१ अंक जोडेर १८औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।