काठमाडौं– फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) तथा मोरक्कोका डिफेन्डर अशरफ हकिमीमाथि बलात्कार आरोप लागेको छ। उनीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ।
उनीमाथि एक २४ वर्षीया महिलाले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्। पीएसजीका फुल ब्याक हकिमीले बलात्कार गरेको भन्दै ती महिलाले आइतबार प्रहरीमा जाहेरी दिएकी हुन्।
अनुसन्धान जारी भएकाले त्यसबार थप बताउन अस्वीकार गरिए पनि अनुसन्धान सुरु गरिएको भने पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ।
स्पेनमा जन्मेका हकिमी गएको विश्वकपममा थप चर्चित बनेका थिए। मोरक्कोले कतारमा भएको विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रच्ने क्रममा उनी एक महत्वपूर्ण खेलाडी थिए। यो इतिहास बनाउने मोरक्को पहिलो अफ्रिकी टोली थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।