काठमाडौं– प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा ब्रिस्टोल सिटीलाई ३-० गोल अन्तरले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो।
सिटीको जितमा फिल फोडेनले २ तथा केभिन डी ब्रुएनले १ गोल गरे। एस्टन गेट ब्रिस्टलमा खेलको सुरुवातदेखि नै घरेलु टोलीमाथि दबाब बढाएको सिटीले ७औं मिनेटमा नै अग्रता लियो। फिल फोडेनले रियाद महारेजको पासमा गोल गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए।
दोस्रो गोलका लागि भने ७४औं मिनेटसम्म कुर्नु पर्यो। ७४औं मिनेटमा जुलियन अल्भारेजको पासमा फोडेनले नै व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे। त्यसपछि ८१औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गरे।
यस्तै, अर्को खेलमा ब्राइटनले स्टोक सिटीलाई १-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको छ। फुलहमले लिड्सलाई २-० ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।
अब प्रि–क्वाटरफाइनलमा साउथह्याम्टन र ग्रिम्सवी, बर्नले र फ्लेटवुड, म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम युनाइटेड तथा सेफिल्ड युनाइटेड र टोटेनहम हटस्परबीचको खेल बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।