काठमाडौं– स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको क्याटलान क्लब बार्सिलोना अल्मेरियासँग पराजित भएको छ। आइतबार राति अल्मेरियाको होम ग्राउण्डमा भएको खेलमा बार्सिलोना १–० ले पराजित भयो।
खेलको पहिलो हाफमा अल्मेरियाका इएल विलाल टोउरेले गरेको गोल नै निर्णायक बन्यो। खेलको २४औं मिनेटमा लुइस सुआरेजको पासमा विलालले गोल गरेका थिए।
त्यसपछि गोल नहुँदा बार्सिलोनालाई स्तब्ध पार्न विलालको गोल नै निर्णायक बन्यो। सो सिजन ला लिगामा बार्सिलोनाले दोस्रो हार बेहोरेको हो। यसअघि १६ अक्टोवर २०२२ मा बार्सिलोना रियल मड्रिडसँग ३–१ ले पराजित भएको थियो। आइतबार रातिको खेलमा बेहोरेको हारसँगै बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो अग्रतालाई थप मजवुत बनाउने मौका गुमाएको छ।
२३ खेल खेलेको बार्सिलोना १९ मा जित, २ मा बराबरी र २ मा हारसहित ५९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको २३ खेलबाट ५२ अंक छ। बार्सिलोनालाई हराएको अल्मेरिया २५ अंकसहित १५औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।