काठमाडौं– राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मी क्लब र सातादोबाटो युथ क्लबबीचको खेल भारी वर्षा र चट्याङका कारण स्थगित भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आइतबार भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल ५३ औं मिनेटसम्म चलिरहँदा भारी वर्षा र गड्याङगुडुङ भएपछि आयोजकले दोस्रो हाफको खेल स्थगित गरेको हो।
दोस्रो हाफको खेल सोमबार बिहान ११ बजेलाई तय गरिएको छ। सोमबारकै लागि दोस्रो सेमिफाइनल पनि तय गरिएको छ। दोस्रो सेमिफाइनल खेल भने दिउँसो ३ बजे हुनेछ।
खेल मच्छिन्द्र फुटबल क्लब र आयोजक केपी ओली फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।