काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको ‘मड्रिड डर्बी’मा रियल मड्रिड हारबाट जोगिएको छ। स्पेनिस युवा फरवार्ड अल्भारो रोड्रिग्वेजले गरेको गोलबाट रियलले एट्लेटिको मड्रिडसँग १–१ को बराबरी खेल्यो।
उपाधि होडमा रहेको रियलले शनिबार एट्लिकोसँग गोलका लागि निकै संघर्ष गर्नु पर्यो। खेलको ६४औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो। एन्टेनियो रुडिगरमाथि फउल गर्न पुगेपछि एन्जल कोरेआ सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। तर, त्यसको फाइदा रियलले उठाउन सकेन।
७८औं मिनेटमा जोश जिमिनेजले गोल गरेपछि रियल उल्टै १–० ले पछि पर्यो। जिमिनेज एन्टोइन ग्रिजमनको पासमा गोल गर्न सफल भएका थिए। यद्यपि एट्लेटिकोको अग्रता ७ मिनेट पनि टिक्न सकेन।
परिवर्तित युवा फरवार्ड अल्भारो रोड्रिग्वेजले गोल गर्दै रियललाई १–१ को स्थितिमा पुर्याए। ७७औं मिनेटमा नाँचो फर्नान्डेसको स्थानमा मैदान छिरेका १८ वर्षीय अल्भारोले लुका मोड्रिचको हेडर पासमा गोल गरे।
शनिबारको खेलबाट रियललाई उपाधि होडका लागि भने घाटा लागेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको रियल २३ खेलबाट ५२ अंक जोड्दा शीर्ष स्थानको बार्सिलोनासँग ७ अंकले पछि परेको छ। रियलभन्दा १ खेल कम खेलेको बार्सिलोनाको ५९ अंक छ।
एट्लेटिको मड्रिडले २३ खेलबाट ४२ अंक जोडेर चौथो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।