काठमाडौं– जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजकको टोली केपी ओली एफसी राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गर्ने चौथो टोली भएको छ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा केपी ओली एफसीले जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो।
यससँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेले पछिटाईब्रेकरमा पुगेको खेलमा आयोजकको टोलीले बाजी मारेको हो।
प्रतिष्पर्धात्मक खेलमा केपी ओली एफसीका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लकेन लिम्बू र अनिल महर्जनले गोल गरेका थिए। जवालाखेलका सिमान्त थापा, समिराज थोकर, फोडे फोफाना र अब्दुलाजिज निशोनबोइभले गोल गर्दा एनकोटो स्यानोउस मासोआबीको पेनाल्टी प्रहार आयोजक टोलीका गोलकिपर पूर्ण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै टोलीलाई अन्तिम चारमा पुर्याएका छन्।
निर्धारित ९० मिनेटको खेलको सुरुवात निकै प्रतिष्पर्धात्मक बनेको थियो। पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा जावलाखेलका लागि डिफेन्डर राहुलले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा पछि परेको आयोजकको टोली दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान उत्रिएको थियो। ६८ औं मिनेटमा विदेशी खेलाडी अजयी मार्टिन्सले गोल गर्दै केपी ओली एफसीलाई १–१ गोलको बराबरीमा ल्याए। बाँकी समयमा दुवै टोली थप गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन र खेल टाईब्रेकरतिर लम्किएको थियो।
जित निकालेको केपी ओली एफसीले सेमिफाइनलमा मछिन्द्र फुटबल क्लवसँग प्रतिष्पर्धा गर्नेछ भने अर्को सेमिफाइनल खेल सातदोबाटो युथ क्लव र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ।
पहिलो सेमिफाइनल सातदोबाटो र त्रिभुवन आर्मीबीच आइतबार हुनेछ भने दास्रो सेमिफाइनल खेल मच्छिन्द्र र केपी ओली
एफसीबीच हुनेछ। राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।