काठमाडौं- चार दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल उम्मेदवार बन्ने लगभग निश्चित भएको छ। शुक्रबार बिहान बालुवाटारमा भएको छलफलबाट उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लगभग सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
बिहान ४ घण्टा बसेको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिमा कुरा मिलिसकेको उनको दाबी छ। उनका अनुसार अन्य ‘पावर सेयरिङ’का लागि दलहरुको आन्तरिक छलफल गर्नुपर्ने भएकाले सहमतिलाई अन्तिम रुप दिन नसकिएको हो।
उनले भने, ‘राष्ट्रपतिमा कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार बन्ने कुरा लगभग टुंगिसकेको हो। उपराष्ट्रपति जसपाले पाउनेछ तर अझै नाम आइसकेको छैन।’
पौडेलका नाममा सहमति जुटेपछि कार्यसम्पादन समितिको बैठक बसेर अनुमोदन गरिने उनले बताए। एकीकृत समाजवादीको राष्ट्रपतिमा दाबी रहेपनि अन्य शक्ति बाँडफाँटबाट कुरा मिल्ने उनको भनाइ छ।
उनले पुरानो गठबन्धन ब्युँताउने कुरामा सबै सहमत भइसकेकाले राष्ट्रपतिमा कांग्रेसलाई एकीकृत समाजवादीले समर्थन गर्ने बताए।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पनि पौडेल राष्ट्रपति बन्ने तय भएको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकबाट बाहिरिने क्रममा शर्माले उक्त कुरा बताएका छन्।
शर्मालाई सञ्चारकर्मीले राष्ट्रपतिमा रामचन्द्र पौडेल हो? भन्न्ने प्रश्न गरेका थिए। जवाफमा शर्माले भने,‘पक्कै पनि त्यही होला।’
साँझ पाँच बजे बस्ने चार दलीय गठबन्धनको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। उनले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ।
अहिले संसद्मा ‘शक्ति सन्तुलन’ जरुरी रहेको बताउँदै एमालेको सभामुख, माओवादी केन्द्रको प्रधानमन्त्री र राष्ट्रपति कांग्रेस वा एकीकृत समाजवादीलाई दिनुपर्ने प्रस्ताव प्रचण्डले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।