काठमाडौं– स्पेनका भेट्रान डिफेन्डर सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। विश्वकप विजेता रामोले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन्।
स्पेनको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लुइस डेला फुन्टेले पेरिस सेन्ट जर्मेन (पीएसजी)का मुख्य डिफेन्डर रामोसलाई आफ्नो योजनामा नराख्ने भएपछि उनले सन्यासको घोषणा गरेका हुन्। सन् २०१० को विश्वकप विजेता रामोसले सन्यास घोषणाको निर्णय गर्दा आफूलाई निकै गाह्रो महसुस भएको समेत बताएका छन्।
३६ वर्षीय रामोसले स्पेनका लागि सबैभन्दा बढी १८० क्याप खेलेका छन्। उनी सन् २०२१ को मार्चदेखि राष्ट्रिय टोलीमा थिएनन्। रामोसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय टिमबाट गुडबाई भन्ने समय आयो।’
रामोसले भनेका छन्, ‘मलाई वर्तमान कोचले फोन गरी आफ्नो योजनामा नरहेको जानकारी गराएपछि मैले राष्ट्रिय टोलीको करिअरलाई निरन्तरता दिन सकिनँ।’
दुई पटकको युरोपियन च्याम्पियन र एक पटकको विश्वविजेता रामोसले १८ वर्षको उमेरमा सन् २००५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। रामोस उनको समकालीनका भेट्रान डिफेन्डरमा पर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।