काठमाडौं– इटालियन क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जित हात पारेको छ। घरेलु मैदानमा भएको खेलमा इन्टरले पोर्चुगिज क्लब एफसी पोर्तोलाई १–० गोलले हरायो।
इन्टरको जितका लागि बेल्जियन फरवार्ड रोमेरो लुकाकुले निर्णायक गोल गरे। बुधबार राति भएको खेलमा घरेलु टोली इन्टरले बल पोसेसन राख्दै पोर्तोलाई दबाब राखिरहे पनि गोलका लागि भने निकै संघर्ष गर्नु पर्यो।
ओटाभियो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेलको ७८औं मिनेटमा पोर्तो १० खेलाडीमा समेटियो। जसको फाइदा उठाउन इन्टर सफल भयो।
५८औं मिनेटमा इडेन जेकोको स्थानमा मैदान छिरेका लुकाकुले खेल सकिन ४ मिनेट अगाडि मात्रै गोल गरे। यो जितसँगै इन्टरको क्वाटरफाइनल पुग्ने सम्भावना बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।