काठमाडौं– खाना पकाउने क्रममा ग्यास चुहिएर आगलागी हुँदा धरानमा ८ जना घाइते भएका छन्। सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालका अनुसार सोमबार साँझ धरान–१७ आदर्श चोकमा स्थानीय सबिता राई घरमा ग्यास चुहिएर आगलागी भएको हो।
आगोमा परी ८ जना घाइते भएका छन्। उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको ढकालले जानकारी दिए।
राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास लिक भएपछि बनाउनका लागि ग्यास डिलरका मान्छे बोलाएका थिए। तर डिलरका मान्छे आएर हेर्दैगर्दा एक्कासी आगोको लप्का उठेको थियो।
घाइते हुनेहरुमा घरधनी २७ वर्षीया सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीया अञ्जना राई, ६५ वर्षीया रामकुमारी राई, ८ वर्षीय सांकेन राई, १० वर्षीय सुमिहाङ राई, ग्यास डिलरका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का रहेका छन्।
घाइतेमध्ये ६५ वर्षीया वृद्धा रामकुमारीको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।