काठमाडौं– भारतसँग दुई मैत्रिपूर्ण खेल खेलेर नेपाली महिला राष्ट्रिय फुटबल टोली आइतबार स्वदेश फर्किएको छ।
प्रशिक्षक अनन्तराज थापा पहिलोपटक महिला प्रशिक्षकको रुपमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा सहभागी भएर नेपाली टोली आइतबार स्वदेश फर्किएको हो।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले भारतसँगको दुई मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिइन्।
उनले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्नसक्नु टिमको प्रदर्शनमा सुधार भएको टिप्पणी गरिन्। राम्रो पुनरागमन गर्नमा सबै खेलाडीले आ–आफ्नो ठाउँबाट राम्रो खेलेको उनले बताइन्।
आयोजक टोलीले उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दै अनुभव लिए पनि उनीहरुविरुद्ध राम्रो नतिजा निकाल्दा आपूm सन्तुष्ट रहेको उनको भनाइ छ। उनले प्रिति राई बिरामी हुनाले अपेक्षा अनुसारको खेल्न नसकेको र गीता राना चोटग्रस्त हुँदा केही कठिन भएको स्वीकार गरिन्।
यस्तै नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले छोटो समयको तयारी भए पनि राम्रो भएको र सोही अभ्यासबाट घरेलु टोलीविरुद्ध सुखद् नतिजा निकाल्न सफल भएको बताइन्।
दुई खेलमा सन्तोषजनक प्रदर्शन भएकाले सबै खेलाडीको मनोबल उच्च रहेको उनको भनाइ छ। पहिलो खेलमा पछि परेको अवस्थामा स्ट्राइकर सावित्राले सम्हालिएर प्रदर्शन गर्न सकेको बताइन्। पहिलो खेलको अन्तिम समयमा दु्ई गोल गर्दै सावित्राले नै बराबरीमा रोकेकी थिइन्।
यस्तै बिरामी भएका कारण अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल प्रिति राईले भने जितको खोजीमा आफ्नो टोली भए पनि राम्रो खेलेको बताइन्। अर्की खेलाडी अमिषा कार्कीले मैत्रीपूर्ण खेल आफ्नो लागि राम्रो अनुभव बटुल्ने अवसर भएको बताइन्।
एशियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीले भारतसँगको खेलबाट राम्रो अनुभव लिएको छ। प्रशिक्षक अनन्तराज थापाले भ्रमण फलदायी भएको र फिफा तालिकाको ६१ औं स्थानको टोलीसँग खेल्दा आफ्नो टोलीको कमी कमजोरी केलाउने मौका मिलेको बताए।
भ्रमणको क्रममा घरेलु टोलीविरुद्ध निकालेको सफलतालाई निरन्तरता दिनुपर्ने धारणा प्रशिक्षक थापाले राखे। भारत भ्रमणको क्रममा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो।
खेल अन्तर्गत पहिलो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै आयोजक भारतसँग २–२ को बराबरी खेलेको थियो। पुनरागमन गर्ने क्रममा सावित्रा भण्डारीले एक पेनाल्टीसहित दुई गोल गर्न सफल भएकी थिइन्।
यस्तै दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपालले भारतविरुद्ध गोलरहित बराबरी खेलेको थियो। बराबरी नतिजा निकाल्ने क्रममा कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको खेल उत्कृष्ट रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।