काठमाडौं- दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले दोस्रोपटक घरेलु टोली भारतको सामना गर्न लागेको हो। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल र भारत बराबरीमा रोकिएका थिए। नेपालका लागि सावित्रा भण्डारीले २ गोल गरेकी थिइन्।
पहिलो हाफ बराबरीमा रोकिएको थियो। ५६ औं मिनेटमा भारतका लागि सौम्या गुगुलोथले पहिलो गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। यस्तै ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले अर्को गोल गर्दै भारतलाई २-० को अग्रता दिलाइन्।
तर, खेलको ९०औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले पेनाल्टीबाट गोल गर्दै नेपाललाई २-१ को स्थितिमा पुर्याइन्। त्यसपछि खेलको इन्जुरी समयमा सावित्राले नै व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्।
त्यसकारण शनिबार नेपाल र भारत दुवै टोली एक अर्कालाई हराउने लक्ष्यका साथ मैदान उत्रिँदैछन्।
काठमाडौंमा भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारतले दुई खेलको मैत्रीपूर्ण खेल खेलेका हुन्।
गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।