काठमाडौं- युईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ का खेलहरु मंगलबारबाट सुरु हुँदैछ। अन्तिम १६ को पहिलो भिडन्त आज (मंगलबार) दुई हेभिवेट टोलीबीच हुँदैछ।
फ्रेन्च लिग वानको लिडर तथा साविक बिजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मनको बुन्डेसलिगाको लिग लिडर तथा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुँदैछ।
पीएसजीको घरेलुमै मैदान पार्क डे प्रिन्सेजमा नेपाली समयअनुसार आज राति १:४५ बजे यी दुई टोलीबीच भिडन्त हुँदैछ। युरोपका दुई हेभिवेट र स्टार खेलाडीले भरिएका दुई क्लब च्याम्पिन्स लिगको अन्तिम १६ मा भिड्न फुबटलप्रेमीको ध्यान आज यी दुई क्लबको खेलमा केन्द्रित छ।
स्टार खेलाडीले भरिएका यी दुई टोलीबीच यसअघि सन् २०२१ को च्याम्पिन्स लिगको क्वाटरफाइलनमा भिडन्त भएको थियो। जहाँ दुवै लेग गरी ३–३ को बराबरी भएको थियो। तर अवे गोलको आधारमा बायर्नलाई पछि पार्दै पीएसजी अघि बढेको थियो।
त्यसअघि सन् २०१९/०२० मा पनि यी दुई टोलीबीच भिडन्त भएको थियो। त्यतिबेला यी दुई टोली च्याम्पियन्स लिगको फाइनलमा भिडेका थिए। जहाँ पीएसजीलाई १–० ले हराउँदै बायर्न च्याम्पियन्स बनेको थियो। पहिलो पटक च्याम्पियन्स लिग जित्ने पीएसजीको सपनालाई चकनाचुर पार्दै बायर्नले उपाधि चुमेको थियो ।
सम्भावित लाइन–अप
पीएसजी: डोनारुम्बा, डानिलो, मार्किन्होस, सर्जियो रामोस, असरफ हाकिमी, मार्को भेराट्टी, फाबियानो रुइज, नुनो मेन्डेस, भिटिन्हा, लियोनल मेसी र नेयमार।
आजको खेलमा रामोस र भेराट्टीले एउटा पहेँलो कार्ड खाएको अवस्थामा अर्को खेल भने गुमाउनेछन्।
बायर्न: यान सोमर, जाआओ क्यान्सेलो, दयोत उपामेकानो, डि लिग्ट, अल्फान्सो डेभिस, जोशुआ किमिच, लिओन गोरेट्ज्का, लेरोय साने, जमल मसुयिला, कंग्सिली कमन र थोमस मुलर।
किमिच र मजरोइले कार्ड खाएको अवस्थामा अर्को खेल गुमाउनेछन्।
स्क्वाड चेन्ज, भर्खरै क्लबबाट इन/आउट भएकाहरु
पीएसजी भित्रिएका: इलियास हुस्नी र टिमोथी पेम्बेले।
पीएसजीबाट बाहिरिएका: अएमान कारी, केलियर नाभास र पाब्लो सराबिया।
बायर्नमा भित्रिएका: डेली ब्लाइन्ड, जाआओ क्यान्सेलो, यान सोमर।
बायर्नबाट बाहिरिएका: बेन्जामिन बालिस, जस्टिन जनित्जेक, ग्राबियल मारुसिक, जाकोब थोमर मेयर, मार्सेल सबित्जर।
आफ्ना पछिल्ला पाँच खेलमा पीएसजीले २ मा हार २ जित र १ मा बराबरी खेलेको छ। बायर्नले भने आफ्ना पछिल्ला पाँच खेलमा हार ब्यहोरेको छैन। ३ मा जित र २ मा बराबरी खेलेको छ।
पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले यो खेल अगाडि आफू ‘चिन्तित’ भएको स्वीकार गरेका छन्।
फ्रान्सेली च्याम्पियनले सन् २०२३ मा उथलपुथल सुरुवात गरेको छ र लगातार दुई घरेलु हारबाट चोटिल बनेको छ। पीएसजीको सकारात्मक पाटो के भने लियोनेल मेसी र भेराट्टीको टोलीमा पुनरागमन भएको छ। त्यस्तै केलियन एम्बाप्पे पनि टोलीमा फर्कने अपेक्षा गरिएको छ। चोटमुक्त भएर ट्रेनिङमा फर्किएसँगै एम्बाप्पे पनि मैदानमा उत्रन सक्ने सम्भावना छ।
बायर्न पनि घरेलु लिगमा वास्तविक उपाधि विजेताको रुपमा अघि बढिरहेको छ। तर आज पीएसजीको घरेलु मैदानमा उत्रिँदा बायर्न थप दबाबमा हुनेछ। अर्को चरण प्रवेशका लागि आजको खेल पनि उत्तिकै महत्वपूर्ण भएकाले बायर्न जितको खोजीमा निस्कनेछ।
गाल्टियर (पीएसजी प्रशिक्षक)
बायर्नका लागि उपाधि जित्न बाँकी केही छैन। ऊ राम्रो अवस्थामा छ। उत्कृष्ट टोलीसँग भिड्दा पीएसजीले पनि आफ्नो रणनीति अबलम्वन गर्नेछ। मलाई लाग्छ, हामी एक निश्चित स्तरका टोलीहरू विरुद्धको खेलहरूमा तेस्रो प्रयोग गर्न सक्छौं। नयाँ विकल्पमा काम गर्नका लागि म कोचिङ स्टाफलाई सोध्नेछु। हामीले सबैभन्दा सन्तुलित मोडेल फेला पार्न आवश्यक छ जसले हामीलाई सकेसम्म चाँडो खेलमा फर्कन सहयोग पुगोस्।
नागेल्सम्यान (बायर्न प्रशिक्षक)
म चाहन्छु, पीएसजी कठिन प्रतिद्वन्द्वी होस्। हामीले समूह चरणमा खास प्रतिस्पर्धी नै पाएनौं। हामीसँग जस्तै पीएसजीसँग पनि विश्वस्तरीय खेलाडीहरु छन्। तर यो च्याम्पियन्स लिग हो। त्यसैले राउण्ड अफ १६ मा कुनै पनि सजिला प्रतिद्वन्द्वीहरु छैनन् भन्ने बुझेर हामी अघि बढ्छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।