काठमाडौं– स्पेनिस ला–लिगामा क्याटलान क्लब बार्सिलोनाले महत्त्वपूर्ण जित निकालेको छ। आइतबार राति भएको खेलमा बलियो प्रतिस्पर्धी भिल्लारियलमाथि बार्सिलोनाले १–० को जित निकालेको हो।
बार्सिलोनाको जितमा युवा मिडफिल्डर पेड्री नायक बने। फरवार्ड रोबर्टो लेवान्डोस्कीको पासमा खेलको १८ औं मिनेटमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो।
२६ पटकको ला–लिगा च्याम्पियन बार्सिलोनालाई लगातार छैठौं जित दिलाउने क्रममा नायक बनेका पेड्री खेलको म्यान अफ दि म्याच समेत घोषित भए।
जारी लिगमा जाभी हर्नान्डेजको टिम बार्सिलोनाले अहिलेसम्म जम्मा ७ गोल मात्रै खाएको छ। २१ औं खेल सकिँदा ७ गोल मात्रै खाएको बार्सिलोना अहिले उत्कृष्ट फर्ममा छ।
जारी लिगमा बार्सिलोनाले अहिलेसम्म १ खेल मात्रै हारेको छ। गत डिसेम्बरमा रियल मड्रिडसँग भएको खेल मात्रै बार्सिलोनाले हारेको हो।
उत्कृष्ट फर्ममा रहँदै जित निकालेको बार्सिलोनाले रियल मड्रिडलाई ११ अंकले पछि पारेको छ। २१ खेल खेल्दै ५६ अंक जोडेको बार्सिलोना लिगको शीर्ष स्थानमा छ। एक खेल कम खेलेको रियल मड्रिड ४५ अंकका साथ दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।