काठमाडौं- बङ्गलादेशमा भएको साफ यु-२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ।
ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३-० गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको हो। बङ्गलादेश भने प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो।
बङ्गलादेशको जितमा शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले समान एक एक गोल गरिन्। राउण्ड रोबिनको आधारमा भएको उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन्।
प्रतियोगितामा विभिन्न चार राष्ट्र सहभागी थिए। प्रतियोगितामा भुटान र भारत भने यसअघि नै बाहिरिएको थियो। यसअघि भएको लिग चरणको पहिलो खेलमा पनि नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो।
त्यस्तै नेपालले भुटानलाई ४–० र भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो। भारतसँग गोलरहित बराबर खेलेको बङ्गलादेशले भुटानलाई ५–० गोलअन्तरले पाखा लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।