काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ। नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लबहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो।
ए डिभिजनका अधिकांश क्लबले आफूहरुलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए। खेलाडी थप गर्ने मागलगायत सहिद स्मारक ए डिभिजन लिग सञ्चालन सम्बन्धमा बुधबार बसेको बैठकले खेलाडी कोटा बढाउने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश साहले बताए।
उनले अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लबहरुले कोटा थप्न माग गरेअनुसार अब क्लबले ५ जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने बताए।
उनले टिममा एक जना एशियाली र एक जना दक्षिण एशियाका खेलाडी अनिवार्य गरिएको पनि बताए। एक खेलमा ४ विदेशी खेलाडीहरु खेल्न पाउने प्रावधान ल्याएको उनले बताए।
राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै क्लबहरुले सामुहिक रुपमा विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजनका ११ वटा क्लबले आफ्नो माग सहितको पत्र लिग निर्देशक सञ्जीव मिश्रलाई बुझाएका थिए। पछिल्लो समय राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडी अष्ट्रेलिया पुगेका छन्।
तीन महिनामा डबल लिग सञ्चालन हुँदा खेलाडीको चोटको समस्यासमेत बढ्ने क्लबको चिन्ता छ। सोही कारण विदेशी खेलाडीको कोटा थप गर्दा टिमको तयारी सहज हुने भन्दै क्लबहरुले विदेशी खेलाडीको कोटा बढाउन माग गरेका थिए। सहिद स्मारक ए डिभिजन लिगमा यसअघि हरेक क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो। विदेशी खेलाडीको कोटा थप भएसँगै सुरुवाती–११ मा ४ जना विदेशी खेलाडी राख्न पाइनेछ।
एक जना विदेशी खेलाडी भने बेन्चमा रहनेछन्। नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ। लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ। लिगका लागि पाँचौं चरणसम्मको तालिका पनि सार्वजनिक भइसकेको छ। सार्वजनिक तालिका अनुसार उद्घाटन खेल खुमलटार युथ क्लब र फ्रेण्ड्स क्लबबीच हुनेछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।