काठमाडौं– बंगलादेशमा जारी २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल फाइनलमा पुगेको छ। अब नेपालले भोलि अर्थात बिहीबार उपाधिका लागि बंगलादेशसँग खेल्ने भएको छ।
बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा भुटानलाई पराजित गरेसँगै नेपालको फाइनल प्रतिद्वन्दी घरेलु टोली परेको हो। यसअघि मंगलबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।
नेपालका लागि अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक/एक गोल गरे। बंगलादेश शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्। भुटान अंकविहीन रहेर प्रतियोगिताबाट बाहिरिएको छ।
बंगलादेशको जितसँगै भारत पनि बाहिरिएको छ। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।