काठमाडौं– साफ यू–२० महिला च्याम्पियनसिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ।
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज (आइतबार) भएको खेलमा नेपाल भूटानलाई ४–० गोल अन्तरले हराउँदै विजयी भएको हो। प्रतियोगितामा नेपालको यो पहिलो जित हो। यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो।
आइतबार भएको नेपालको जितमा अमिषा कार्कीले ‘ह्याट्रिक’ पूरा गरिन् भने कप्तान प्रिती राईले १ गोल थपिन्। खेलको १९औँ मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन्। त्यस्तै, खेलको पहिलो हाफको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गरिन्।
त्यसपछि खेलको ६१औँ मिनेटमा कप्तान प्रितीले गोल गर्दै नेपाल ३–० ले अघि रह्यो। त्यस्तै खेलको ६२औँ मिनेटमा अमिषाले ह्याट्रिक पूरा गर्दा नेपाल ४–० ले विजयी भयो। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भूटानको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।