काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले खेलाडीलाई अवसर खोज्दै विदेश पलायन नहुन आग्रह गरेका छन्।
एक महिनापछि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको तयारीबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राईले देशभित्र फुटबलका गतिविधि नभएर चर्चित खेलाडी बाहिरिनु दुःखद् भएको र आगामी वर्षदेखि खेलाडीलाई व्यस्त गराउने तालिका एन्फाले बनाएको भन्दै विदेश पलायन नहुन आग्रह गरेका हुन्।
सो अवसरमा महासचिव राईले खेलाडीको जीविकोपार्जनको निश्चिततासँगै एन्फाले कार्यक्रम बनाएको र भविष्य खोज्न विदेश नरोज्नका लागि खेलाडीलाई अनुरोध गरेका छन्। महासचिव राईले एन्फाको राजनीति एक तरिकाले चलिरहे पनि अर्को तरिकाले फुटबल गतिविधि नरोकिने भन्दै खेलाडीलाई फुटबलमा जोडिन अनुरोध गरे।
महासचिव राईले एक महिनापछि आयोजना हुन लागेको लिगको तयारी ५० प्रतिशत पुगेको र ५० प्रतिशत प्राविधिक कामय रहेको जानकारी दिए। मुख्य प्रायोजकको रुपमा कतार एयरवेजसँग छलफल भइरहेको भए पनि लिगको एक महिने काउन्ट डाउन शुरु भएको र केही प्राविधिक काम बाँकी रहेको जानकारी दिँदै उनले ५० प्रतिशत तयारी सकिएको दाबी गरेका हुन्।
फागुन १९ गतेदेखि आयोजना हुने शहीद स्मारक ए डिभिजन लिग यो संस्करण तीन मैदानमा आयोजना हुनेछन्। एन्फाले यसपछि डबल राउण्ड रोबिनको आधारमा सञ्चालन गर्ने यसअघि नै जानकारी दिएको छ। लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुँदैछन्। मैदान मर्मतको काममा एन्फा जुटिरहेको बताइएको छ।
तयारी सम्बन्धमा आयोजना भएको पत्रकार सम्मेलनमा एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले विश्वभर लिगको तालिका पहिले नै सार्वजनिक प्रावधान भए पनि पहिलो पाँचौं चरणको खेल तालिका सार्वजनिक भइसकेको जानकारी दिए।
पाँचौ चरणको खेलपछि फिफा र राष्ट्रिय टोलीका विभिन्न मैत्रीपूर्ण खेल भएकाले बाँकी तालिका सार्वजनिक नगरेको उनले बताए। यद्यपि, मिश्रले क्लबहरुलाई तालिका प्रदान गरिसकेको स्पष्ट पारे।
लिगका लागि १४ वटै क्लबले नाम दर्ता गरासकेको एन्फाले जनाएको छ।
यस्तै, सबै क्लबले तयारी खर्चको पहिलो किस्ता १५ लाख लिएको एन्फाकाे भनाइ छ। एन्फाले लिगको तयारीका लागि ए डिभिजनका प्रत्येक क्लवलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ। डबल राउण्ड रोबिन लिग प्रणालीमा आयोजना हुने लिगको विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।
यसैगरी,फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्याएको छ भने मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।