काठमाडौं– स्टार खेलाडी लियोनल मेसीले बार्सिलोना छाडेपछि कठिन अवस्थाबाट गुज्रिएको बार्सिलोनाले सोमबार उपाधिको खडेरी तोड्यो। स्पेनिस सुपर कपको उपाधि भिडन्तमा उत्रिएको बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गर्दै ट्रफीको खडेरी तोड्न सफल भयो।
बार्सिलोनालाको जितमा गाभी, लेवान्डोस्की र पेड्रीले गोल गरे। खेलमा एकछत्र दबदबा बनाएको बार्सिलोनाको सामु मड्रिड फिक्का साबित भयो।
बार्सिलोनाका लागि यो उपाधि भने निकै महत्त्वपूर्ण रह्यो। क्लब, प्रशिक्षक, खेलाडी र फ्यान सबैका लागि यो उपाधि निकै यादगार रहनेछ। बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि जाभी हर्नान्डेजले पहिलो उपाधि हात पारे।
पछिल्लो केही सिजनदेखि स्तब्ध भएको टोली र रोनाल्ड कोम्यानको दोस्रो सिजनको मध्यतिर जाभी बार्सिलोनाका प्रशिक्षकको रुपमा नियुक्त भएका थिए। लामो प्रयास र छलफलपछि बार्सिलोनाले आफ्ना पूर्वखेलाडी समेत रहेका जाभीलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो। रोनाल्ड कोम्यानको ठाउँमा आएका जाभीले टिममा केही सुधार ल्याए पनि पहिलो सिजन उपाधिविहिन नै भएको थियो।
अन्ततः प्रशिक्षकको जिम्मेवारी सम्हालेको ४२१ दिनपछि बार्सिलोनालाई ट्रफी दिलाउन जाभी सफल भए।
साउदी अरबको रियादस्थित किङ फहद स्टेडियममा भएको खेलमा जाभीको टिमले उत्कृष्ट प्रदर्शन गरेको थियो। जाभीले यस प्रतियोगितामा उपाधि लिएको यो पहिलो पटक भने होइन। बार्सिलोनाबाटै खेल्दा अन्य २६ ट्रफीसहित जाभीले ६ पटक स्पेनिस सुपर कपको उपाधि उचालेका थिए।
यो जित बार्सिलोनाका लागि खास बनेको छ। विगत केही वर्षदेखि उपाधिले भोकाएको बार्सिलानाका लागि यो जितले एउटा ऊर्जा थपेको छ। जाभीले बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी लिएपछि क्याम्प नोउमा नयाँ प्रकारको अपेक्षा गरिएको थियो। बार्सिलोना आफ्नो पुरानो लयमा फर्कने र उत्कृष्ट खेल खेल्ने अपेक्षा थियो। अझ त्यो भन्दा बढी आफ्ना स्टार खेलाडी लियोनल मेसीले छाडेपछि थपिएको उपाधिको खेडेरी तोडिने अपेक्षा गरिएको थियो। जुन अपेक्षा पूरा गर्ने सुरुआत सुपर कपबाट भयो।
बार्सिलोनाका लागि सुपर कप उपाधि पहिलो नभए पनि बार्सिलोनाका धेरै खेलाडीका लागि यो उपाधि पहिलो हो। जसमा यान्की पिना, अलेजान्ड्रो बाल्डे, बेल्लिरिन, क्रिस्टिनसन, मार्कोस अलोन्सो, जुलुस कुन्डे, एरिक ग्रासिया, केसेई, गाभी, रोबर्टो लेवान्डोस्की, फेरान टोरेस, अर्नाउ टेनास, मेम्फिस डिपाए, राफिन्हाका लागि यो पहिलो ट्रफी हो।
सुपर कपको उपाधि उचालेको बार्सिलोना ला–लिगाको टेबलमा पनि रियल मड्रिडलाई ३ अंकले पछि पार्दै शीर्ष स्थानमा छ। जसकारण क्लबको म्युजियममा अर्को ट्रफी पनि थपिन सक्ने विश्वास बार्सिलोनाले लिएको छ।
तोडियो खडेरी
लामो समयसम्म बार्सिलोना उपाधिबिहिन भयो। जाभी सुरुमै च्याम्पियन्स लिगको खराब स्थितिसँग जुध्न पुगे। त्यसमा उनको जिम्मेवारी न्यून थियो। किनभने जाभीले जिम्मेवारी सम्हाल्दा टोली लगभग आउट हुने अवस्थामा पुगिसकेको थियो।
त्यसपछि अप्रत्याशित रुपमा बार्सिलोनाका लागि उपाधिहरु हराउन थाले। पहिलो हार सुपर कप थियो त्यो पनि रियल मड्रिडविरुद्ध नै।
जाभी आएपछि नै बार्सिलोना ‘कोपा डेल रे’को उपाधि होडबाट पनि बाहिरिएको थियो। ला–लिगामा खराब अवस्थामा गुज्रिएको बेलामा उपाधि रक्षाका लागि ‘कोपा डेल रे’ एउटा विकल्प थियो। तर, एथ्लेटिक क्लबसँग हार ब्यहोर्दै बाहिरिन पुग्यो।
सँगै च्यापिन्स लिगबाट घटुवा भएर युरोपा लिग खेलेको बार्सिलोना त्यसबाट पनि बाहिरिएको थियो। जर्मन क्लब फ्रयांकफर्टले बार्सिलोनालाई स्तब्ध बनाएको थियो।

यो सिजन भने बार्सिलोनाले च्याम्पियन्स लिगको ट्रफी उचाल्ने लक्ष्यसहित टिम बनाएको थियो। रोबर्टो लेवान्डोस्की, राफिन्हा, कुण्डेजस्ता प्रतिभावान खेलाडीलाई अनुबन्धन गरेको बार्सिलोना सुखद सुरुआत पनि गरेको थियो।
तर, जाभीले सोचेजस्तो भएन। यो सिजन पनि च्याम्पिन्स लिगबाट घटुवा हुँदै बार्सिलोना युरोपा लिगमा झर्यो। त्यसपछि प्रशिक्षक जाभीको ध्यान सुपर कपमा थियो। रियादमा उनले सोचे अनुसार नै भयो। यो सत्य हो कि यो नै सबैभन्दा ठूलो उपलब्धि होइन। तर, विपक्षी र खेलाडीको मनोभावका कारण पनि यो जित बार्सिलोनाका लागि निकै महत्त्वपूर्ण हो। यो उपाधि चिरपरिचित प्रतिद्वन्द्वी तथा च्याम्पिन्स लिग विजेतामाथिको थियो।
रियल विरुद्धको खेलबाट धेरै सकारात्मक सन्देश बार्सिलोनाले प्राप्त गरेको छ। उनीहरुले सुरु गरेको ४–२–३–१ को फर्मेसनमा उनीहरु राम्रोसँग खेल्न सक्छन् भन्ने पुष्टि भएको छ। यो पोजिसनमा खेल्दा धेरै उत्कृष्ट अवसर समेत सिर्जना भएका थिए।
उनीहरुले पछिल्लो केही खेलहरुका समस्या पनि पार गरे। विपक्षीलाई कुनै मौका दिएनन्। दोस्रो हाफको अन्त्यतिर भने विपक्षीले पनि केही अवसरहरु सिर्जना गरेका थिए।
बार्सिलोनालाई १४ सुपर कप
बार्सिलोना यसअघि पनि सर्वाधिक सुपर कपको उपाधि जित्ने टिममा पर्छ। यसअघि बार्सिलोनाले १३ वटा सुपर कपको उपाधि उचालिसकेको छ। रियल मड्रिडले भने १२ वटा उपाधि उचालेको छ।
सोमबार खेलमा उपाधि जित्दै बार्सिलोनासँग बराबरी गर्ने दाउ रहे पनि रियलले हार टार्न सकेन। बार्सिलोनाले बरु आफ्नो उपाधि संख्या थप गर्दै १४ पुर्यायो।
सन् २०२०–२१ मा ‘कोपा डेल रे’को उपाधि जितेपछि उपाधिविहीन बनेको बार्सिलोनाले उपाधिको खडेरी तोड्यो। अन्तिमपटक २०२०–२१ मा बार्सिलोनाले ‘कोपा डेल रे’को उपाधि जित्दा बार्सिलोनासँग मेसी थिए। बार्सिलोनाबाट मेसी पीएसजी गएपछि क्लब उपाधिविहीन बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।