काठमाडौं– स्पेनिस फुटबल क्लब रियल मड्रिडले आइतबार नेपालमा भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ।
सोमबार क्लबको आधिकारिक फेसबुक पेजमा एक सन्देश जारी गर्दै रियलले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, दुर्घटनामा ज्यान गुमाउनेका आफन्तहरूलाई समवेदना प्रकट गरेको छ।
‘नेपालमा भएको जहाज दुर्घटनामा आफ्ना प्रिय आफन्त गुमाउने सबै परिवारलाई हामी समवेदना प्रकट गर्दछौं’, रियलले भनेको छ, ‘हामी हाम्रो सम्पूर्ण शक्ति र साहस पीडित परिवारप्रति समर्पित गर्न चाहन्छौं।’
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा रहेको सेती किनारमा दुर्घटनामा परेको थियो।
विमानमा ७२ जना सवार थिए। जसमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए। यात्रुहरूमा ५३ जना नेपाली थिए। बाँकी विदेशी थिए।
विदेशी यात्रुहरूमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका १ जना, अस्ट्रेलियाका १ जना, अर्जेन्टिनाका १ जना, फ्रान्सका १ जना थिए। जसमा महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।