काठमाडौं– पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा हार व्यहोरेको छ। स्टार खेलाडीले भरिएको पीएसजी रेन्ससँग १–० ले पराजित भयो।
आइतबार राति रेन्सको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पीएसजीलाई हराउने क्रममा कप्तान हमारी ट्राओरे नायक बने। एड्रियन ट्रुफर्टको पासमा हमारीले ६५ औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्दा पीएसजी स्तब्ध बन्यो।
पीएसजीले केलियन एम्बाप्पेलाई सुरुवाती बेन्चमा राखेर लियोनल मेसी र नेयमारलाई मैदानमा उतारेको थियो। दोस्रो हाफमा एम्बाप्पेलाई मैदान उतारे पनि पीएसजीले हार टार्न सकेन।
६५ प्रतिशत बल पोसेसन राखेको पीएसजीले जम्मा १ सर्ट मात्रै अन टार्गेट हानेको थियो। हारसँगै पीएसजी १९ खेलबाट ४७ अंकका साथ लिगको शीर्ष स्थानमा छ। समान खेल खेलेको लेन्सको ४४ अंक छ रेन्स भने ३७ अंकका साथ पाँचौं स्थानमा उक्लेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।