काठमाडौं– एथ्लेटिको मड्रिडका स्ट्राइकर जाओ फेलिक्स लोनमा इंग्लिस क्लब चेल्सीमा पुगेका छन्। जारी सिजनको बाँकी खेलका लागि फेलिक्स चेल्सी पुगेका हुन्।
फेलिक्सका लागि चेल्सीले ११ मिलियन युरो तिर्ने सहमति भएको छ। पोर्चुगिज स्ट्राइकर फेलिक्सले एथ्लेटिकोसँगको सम्झौता पनि सन् २०२७ सम्मका लागि लम्ब्याएका छन्। २३ वर्षीय फेलिक्सलाई भित्र्याउन आर्सनल र म्यानचेस्टर युनाइटेड पनि लागि परेका थिए। अन्ततः चेल्सीले उनलाई भित्र्याएको छ।
चेल्सी जाने पक्का भएपछि फेलिक्सले भनेका छन्, ‘चेल्सी विश्वकै उत्कृष्टमध्ये एक क्लब हो। उसको उद्देश्य पूरा गर्नका लागि सक्दो सहयोग गर्नेछु। म यहाँ आइपुगेकोमा निकै खुसी छु। स्टामफोर्ड ब्रिजमा खेल्न निकै उत्साहित छु।’
फेलिक्स सन् २०१९ मा बेनफिकाबाट एथ्लेटिको पुगेका थिए। एथ्लेटिकोमा रहँदा १३१ खेल खेलेका उनले ३४ गोल र १८ असिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।