काठमाडौं– फ्रान्सको राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।
विश्वविजेता लोरिसले सोमबार अन्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन्। लोरिसकै कप्तानीमा फ्रान्स सन् २०१८ मा विश्वविजेता बनेको थियो।
कतार विश्वकपमा पनि उनकै कप्तानीमा मैदानमा उत्रिएको फ्रान्स फाइनलसम्म पुगेको थियो। फाइनलमा टाई ब्रेकरमा अर्जेन्टिनासँग पराजित भएको थियो। ३६ वर्षीय लोरिस इंग्लिस क्लब टोटनहामबाट व्यवासयिक फुटबल खेल्दै आएका छन्।
सन्यास घोषणा गर्दै लोरिसले भनेका छन्, ‘म आफ्नो अन्तर्राष्ट्रिय करिअर अन्त्य गर्दैछु। मैले देशका लागि सक्नेजति सबै दिएँ।’
लोरिसले २१ वर्षको उमेरमा सन् २००८ मा उरुग्वेसँगको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए। उनले फ्रान्सका लागि १४५ क्याप जितेका छन्। उनले साढे १४ वर्षसम्म फ्रान्सको गोलरक्षकको भूमिका सम्हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।