काठमाडौं– बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोवीले न्याय नपाएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना (आन्दोलन) सुरु गरेका छन्।
उनीहरुले ४ बुँदे मागसहित बिहीबारदेखि माइतीघरमा धर्ना सुरु गरेका हुन्। निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत् कुर्मीको तमसुकमा भएको सहिछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्याइनुपर्ने र आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने माग उनीहरुको छ।
निर्मला र नन्कुन्नी न्यायका लागि सुरुदेखि नै आन्दोलनमा रहेकी अधिकारकर्मी रुवीले राज्यबाट न्यायिक प्रत्याभूति हुन नसकेको बताइन्। घटनाका आरोपित व्यक्ति प्रदेश सांसद निर्वाचित भएको भन्दै उनले आपत्ति जनाइन्।
बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित बादशाह कुर्मीलाई शपथ ग्रहण नगराउन माग गर्दै निवेदन दिएको पनि रुवीले जानकारी दिइन्।
घटनापछि न्यायको माग गर्दै पहिलोपटक उनीहरु नेपालगञ्जबाट २० दिनको पैदला यात्रा गर्दै काठमाडौं आएका थिए। त्यतिबेला उनीहरुले माइतीरघरमा १९ दिन धर्ना दिएका थिए।
गृह मन्त्रालयले घटनाको छानबिन गर्ने प्रतिबद्धता जनाएपछि उनीहरुले धर्ना तोडेका थिए। यसबीचमा सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको रुवीले उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।