सर्लाही - सर्लाहीमा अपहरण गरी बन्धक बनाइएका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार २०८३ कात्तिक २७ गते गोडैता नगरपालिका–१ बस्ने ३७ वर्षीय सुनिल कुमार रायलाई अपहरण गरिएको थियो।
कौडेना गाउँपालिका–२ स्थित फूलपरासी भन्ने स्थानबाट ४/५ जनाको समूह दुईवटा मोटरसाइकलमा आई रायलाई कुटपिट गर्दै अपहरण गरेको प्रहरीको भनाइ छ। उनीहरूले रायलाई पिकअप गाडीमा हालेर बरहथवातर्फ लगेको भन्दै उनका आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा जानकारी गराएका थिए।
जानकारी प्राप्त भएपछि प्रहरीले प्रारम्भिक अनुसन्धान तथा खोजतलास सुरु गरेको थियो। सोही क्रममा कात्तिक २८ गते बरहथवा नगरपालिका–५ निवासी राजकुमार महतोको घरमा रायलाई एउटा कोठाभित्र बन्धक बनाएर राखिएको अवस्थामा फेला पारी सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले सोही स्थानबाट ३१ वर्षीय सन्तोष कुमार महतोलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि सोही दिन बरहथवा नगरपालिका–९ स्थित दूध डेरी चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्राउ पर्नेहरूमा बरहथवा नगरपालिका–५ निवासी ४५ वर्षीय बिश्वेश्वर महतो, २७ वर्षीय प्रमोद कुमार महतो, २५ वर्षीय अमित कुमार महतो र ३१ वर्षीय सन्तोष कुमार महतो रहेका छन्।
प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा उनीहरूबीच वैदेशिक रोजगारीसम्बन्धी विवाद रहेको र सोही विषयको रकम जबर्जस्ती असुल गर्ने प्रयोजनका लागि रायको अपहरण गरिएको खुलेको छ।
त्यसैगरी, अपहरणकारीहरूले फिरौती माग गरी रकम तिर्न जाँदा तीन लाख रुपैयाँ र गरगहना लुटिएको भन्दै गलत सूचना दिई घटनालाई अतिरञ्जित गर्ने अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि अपहरण तथा शरीर बन्धक कसुरमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको अतिरञ्जन गरेकाे आराेपमा बरहथवा नगरपालिका वडा नं. १२ बस्ने राम नारायण यादव र निलव देवीलाई पनि पक्राउ गरिएको छ ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।