काठमाडौं– पुस अन्तिम सातालाई तय भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार असन्तुष्ट क्लब र एन्फाबीचको छलफलपछि ए डिभिजन लिग फागुन १९ गतेबाट गर्ने सहमति भएको हो।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको एन्फा र क्लबका पदाधिकारिबीचको छलफलमा लिग फागुन १९ गतेबाट गर्ने सहमति भएको संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिए।
यसअघि एन्फाले पुस २६ गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो। त्यसका लागि एन्फाले पछिल्लोपटक पुस ७ गते क्लबहरूलाई टिम दर्ता गर्न समयसीमा तोकेको थियो। तर, दर्ताको विषयमा भने छलफल जारी नै रहेको संकटा क्लबका अध्यक्ष तुलाधरले जानकारी दिए।
एन्फाले योपटक डबल राउण्ड रोबिन पद्धतिमा लिग सञ्चालन गर्ने तयारी गरेको थियो। त्यसका लागि पहिलेको भन्दा लाग्ने खर्च पनि दोब्बर हुने भएकाले तयारी खर्च बढाउन एन्फा तयार भएको थियो।
विगतका वर्षहरूमा प्रदान गर्दै आएको तयारी खर्च बापतको १५ लाख रुपैयाँ बढाएर २५ लाख दिन एन्फा सहमत भएको थियो। एन्फाले गत वर्षको बक्यौता साढे सात लाख रुपैयाँ क्लबहरूलाई दिन बाँकी नै छ। उक्त रकम थपेर एन्फाले क्लवहरूलाई साढे ३२ लाख तयारी खर्च उपलब्ध गराउनुपर्नेछ।
एन्फाले नयाँ सिजनको लिग सुचारु गर्न पहिलो किस्तास्वरूप १५ लाख र वक्यौता रकम साढे सात लाख गरी साढे २२ लाख रुपैयाँ क्लबहरूलाई गएको मंसिर १५ गतेभित्र उपलब्ध गराउने भनेको थियो। मंसिर २५ गतेभित्र क्लबहरूले कम्तीमा १८ खेलाडीसहितको टिम दर्ता गर्ने सहमति गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।