काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा म्यानेचस्टर सिटीले सहज जित निकालेको छ। लिड्स युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै सिटीले सहज जित निकालेको हो।
सिटीको जितमा एर्लिङ हालाण्ड र रोड्रीले गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै रोड्रीले सिटीलाई अग्रता दिलाएका थिए।
त्यसपछि दोस्रो हाफको ५१ र ६४ औं मिनेटमा हालाण्डले २ गोल सिटीलाई ३–० को अग्रता दिलाएका थिए। हालाण्डको दुबै गोलमा ज्याक ग्रिलिसले पास मिलाएका थिए।
३–० ले पछि परेको लिड्सले ७३ मिनेटमा १ गोल फर्काउँदै ३–१ को स्थिती बनाएको थियो। लिड्सका लागि स्ट्रुइज्कले गोल फर्काएका थिए।
२ गोल गरेसँगै हालाण्डले प्रिमियर लिग फुटबलमा सबैभन्दा कम खेलमा २० गोल पुरा गर्ने कीर्तिमान बनाएका छन्। उनले प्रिमियर लिगका १५ खेल गर्दै २० गोल पूरा गरेका हुन्।
हालाण्ड जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सिटीमा यसै सिजन आबद्ध भएका थिए। गोल संख्या बढाइरहेका हालाण्ड युरोपियन गोल्डेन बुटको दौडमा समेत अघि छन्। युरोपका लिगहरुमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट दिइँदै आएको छ। जसमा उनका प्रतिस्पर्धी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का केलियन एम्बाप्पले १६ खेल गल्दै १३ गोल गरेका छन्।
जितसँगै १५ खेलबाट ३५ अंक जोडेको सिटी लिगको दोस्रो स्थानमा छ। समान खेलका साथ पहिलो स्थानको आर्सनलको ४० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।