काठमाडौं- इंग्लिस क्लब क्रिस्टल प्यालेसका मुख्य प्रशिक्षक प्याट्रिक भिएराले अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजको सेलिब्रेसन मुर्खताको उपज रहेको प्रतिक्रिया दिएका छन्।
फ्रान्सलाई सन् १९९८ मा विश्वकप जिताएका भिएराले मुर्खतापूर्ण व्यवहार देखाउँदै त्यस्तो सेलिब्रेसन गरेको उनको भनाइ छ। फ्रान्सका पूर्वमुख्य प्रशिक्षक समेत रहेका उनले मार्टिनेजले केलियन एम्बाप्पेलाई पटक-पटक जिस्क्याएको पनि दाबी गरेका छन्।
पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गर्दै विश्वकप ट्रफी उचालेको अर्जेन्टिनाका गोलरक्षक मार्टिनेज प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए। जस क्रममा गोल्डेन ग्लोब हात पारेका उनले ग्लोब लिएर गरेको सेलिब्रेसन निकै विवादित बनेको थियो।
सेलिब्रेसन मात्रै होइन उनको हाउभाउ समेत निकै अशिष्ट देखिएको भिएराको प्रतिक्रिया छ। ‘कहिलेकाहीँ मानिसका भावनात्मक निर्णयहरु नियन्त्रणभन्दा बाहिर हुनसक्छन्। तर मार्टिनेजले जे गरे त्यो मुर्खतापूर्ण थियो,’ भिएराले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।