नयाँ दिल्ली– इन्डियन प्रिमियर लिग (आईपीएल)– २०२३ को मिनि अक्सन भएको छ। जहाँ तीन नयाँ खेलाडीमाथि अनपेक्षित बोली लागेको छ।
यसक्रममा सबैभन्दा महंगा भने युवा अलराउण्डर साम करन रहे। टी–२० क्रिकेट विश्वकप विजेता टोली इंग्ल्यान्डका खेलाडी करन फाइनलमा प्लेयर अफ दी सिरिजसमेत बनेका थिए।
यससपल्ट आईपीएल ६ टोलीले उनीमाथि रुचि देखाएका थिए। दिल्ली, लखनऊ, चेन्नई, पञ्जाब, राजस्थान र मुम्बईले उनीमाथि बोली लगाए पनि पञ्जाबले १८.५ करोड भारतीय रुपैयाँ तिरेर भित्र्यायो।
तीन भारतीय युवा खेलाडी पनि यसपल्ट अनपेक्षित मूल्यसहित आईपीएलमा भित्रिएका छन्। तीमध्ये एक हुन् तीव्र गतिका बलर मुकेश कुमार।

बिहारका उनी घरेलु क्रिकेट खेल्छन्। उनलाई दिल्लीले ५.५ करोड रुपैयाँमा भित्र्याएको छ। न्युनतम मूल्य २० लाख तोकिएका उनी एकपल्ट उक्त रकम पाउन सफल भएका हुन्।
बिहार गोपालगञ्जका उनी ट्याक्सी ड्राइभरका छोरा हुन्। बिहारबाट रणजी ट्रफीका लागि खेलेका उनले त्यसपछि कोलकाता आएर बंगाल टिममा स्थान बनाए। उनले भारतीय ए टिमका लागि खेलिसकेका छन्। उनी साउथ अफ्रिकासँगको खेलमा भारतीय टिममा परे पनि खेल्न भने पाएनन्।

अर्का विब्रान्त शर्मा हुन्। जम्मु कश्मिरका उनका लागि पनि २० लाख न्युनतम मूल्य तोकिएको थियो तर, उनले १३ गुणाभन्दा बढी अर्थात् २.६ करोड भारतीय रुपैयाँ पाए। उनी बायाँहाते ब्याटर र स्पिनर हुन्। उनले विजय हजार ट्रफीमा राम्रो प्रदर्शन गरेका थिए। उनलाई हैदराबादले भित्र्याएको हो।

अर्का युवा खेलाडी नारायण जगदीशन पनि यसपल्ट आईपीएलमा प्रवेश गरेका छन्। २० लाख नै न्युनतम मूल्य भएका उनी ९० लाख रुपैयाँमा कोलकातामा आबद्ध भएका छन्। विजय हजारे ट्रफीमा शानदार ब्याटिङ गरेपछि उनी पनि धेरैको नजरमा परेका थिए। उनले लगातार ५ शतक लगाउनुका साथै २ वटा लिस्ट ए क्रिकेटमा नयाँ कीर्तिमान बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।