काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को एलिमिनेटरमा चितवन राइनोजले काठमाडौं गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान रवि बोपाराले टस जितेर ब्याटिङ रोजेका हुन्।
निर्णायक खेलमा दुवै टोलीले आफ्नो प्लेइङ–११ मा समान दुई खेलाडी परिवर्तन गरेका छन्।
चितवनले सिकन्दर राजा र डान मोस्लीलाई विश्राम दिँदै रवि बोपारा र डाविड मलानलाई मैदान उतारेको छ। यस्तै, काठमाडौंले सुमित महर्जन र स्मित पटेलको स्थानमा साहिल पटेल र साम हिजलेटलाई टोलीमा समेटेको छ। काठमाडौंको कप्तानी करण केसीले गरिरहेका छन्।
आजको खेल दुवै टोलीका लागि प्रतियोगितामा टिकिरहने अन्तिम अवसर हो। पराजित हुने टोलीको एनपीएल यात्रा यहीँ समाप्त हुनेछ भने विजेता टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
लिग चरणमा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै एलिमिनेटरमा पुगेका हुन्। यसअघि लिग चरणमा भएको भेटमा काठमाडौंले चितवनलाई १० रनले पराजित गरेको थियो।
त्यसैले पहिलो भेटको नतिजा दोहोर्याउने लक्ष्य काठमाडौंको हुनेछ भने चितवनसँग त्यसको बदला लिँदै क्वालिफायरतर्फ अघि बढ्ने अवसर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।