काठमाडौं– कामिल मिशाराको कीर्तिमानी शतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको हो।
टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन जोड्यो । चितवनले तेस्रो ओभरमा पहिलो विकेट गुमायो । देव खनाल १५ बलमा १७ रन जोडेर आउट भए ।
तेस्रो ओभरमा बलिङमा आएका काठमान्डुका कप्तान करण केसीले पहिलो बलमै सफलता हात पार्दै खनाललाई पभेलियन पठाए । चितवनले लगत्तै अर्को विकेट पनि गुमायो ।
दोस्रो बलमा पनि करणले विकेट लिँदै डेविड मलानलाई आउट पारे । मलान खाता खोल्न नसकी आउट भए । चितवनले पावरप्लेमा २ विकेट गुमाएर ३४ रन जोड्यो । आठौं ओभरमा कामिल मिशाराले जीवनदान पाए । काठमान्डुका विलियम बोसिस्टोले उनको क्याछ छुटाए ।
चौथो नम्बरमा ब्याटिङमा आएका रवि बोपाराले मिशारालाई साथ दिँदै दुई ब्याट्सम्यानले चितवनको इनिङ्स सम्हाले ।
मिशाराले संयमित ब्याटिङ गर्दै ३३ बलमा अर्धशतक बनाए । त्यसपछि हात खोल्दै उनले आक्रामक ब्याटिङ गरे । १४ औं ओभरमा सोनु देवकोटालाई लगातार तीन बलमा तीन छक्का प्रहार गर्दै दबाबमा पारे ।
मिशाराले ५३ बलमा शतक बनाए । एनपीएलमा शतक बनाउने उनी पाँचौ खेलाडी बने । यसअघि एन्ड्रीस गोउस, मार्क वाट, आडम रोसिङ्टन र युवराज सामराले शतक बनाएका छन् । शतक बनाउने सबै विदेशी खेलाडी हुन् ।
मिशाराले एनपीएल इतिहासकै उच्च स्कोर बनाए । उनी १२० रनमा नटआउट रहे । उनले कर्णाली याक्सका मार्क वाटको उच्च स्कोरको कीर्तिमान तोडेका हुन् । वाटले गत सिजन लुम्बिनी लायन्सविरुद्ध ११४ नटआउट रन बनाएका थिए ।
यस्तै कप्तान रवि बोपाराले अर्धशतकीय पारी खेल्दै ४२ बलमा ५३ रनको योगदान दिए । बलिङतर्फ काठमान्डुका करण केसी र राशिद खानले दुई दुई विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।