काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कतारमा हालै सम्पन्न विश्वकप फुटबल प्रतियोगिता निकै रोचक भएको प्रतिक्रिया दिएका छन्।
शुक्रबार पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिबल कार्यक्रममा अध्यक्ष ओलीले विश्वकपमा आफू विजेता अर्जेन्टिनाको पक्षमा रहेको खुलासा गर्दै उसैले जितकोमा खुसी व्यक्त गरे।
‘विश्वकपको अन्तिम खेल –फाइनल) त रोचक नै थियो। म तठस्थ ढंगले अर्जेन्टिनाको पक्षमा थिएँ,’उनले भने।
सो अवसरमा ओलीले पहिलो आफूले पनि फुटबल खेल्ने गरेको खुलासा गरे।
‘उहिले मौका मिल्दा म पनि फुटबल खेल्थे। फुटबलको नियम बुझ्छु। तरिका बुझ्छु। पास दिएको मिल्यो कि मिलेन, हनाइ मिल्यो कि मिलेन भन्ने सबै बुझ्छु,’ उनले थपे।
उनले फुटबल हेर्ने क्रममा युवाहरू जोसिएर उठ्ने गरेको प्रशंग कोट्याउँदै यसपटकको फाइनल खेलमा आफू पनि एक–दुईपटक उठेको बताए।
‘म उठेकाो कतारको रंगशालमा रहेका खेलाडी र दर्शकले नदेखे पनि, म उठ्नु–नउठ्नुमा दुनियाँसँग कुनै सरोकार नभए पनि, खेलको हारजित मात्र नभएर खेलसँगै बगेपछि आफैँ उठिदो रहेछ,’ उनले भने।
गत आइतबार भएको फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिनाले आफ्नो तेस्रो विश्वकपको उपाधि जितेको थियो। यसअघि निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएको थियो। यो फाइनललाई हालसम्मकै रोमाञ्चक फाइनल मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।