काठमाडौं– 'केही समयपछि फेरि (संसदीय दलको) निर्वाचन हुन्छ। फेरि प्रतिस्पर्धा हुन्छ। फेरि नयाँ परिणामको अपेक्षा हुन्छ। त्यो बेलासम्म परिवर्तन आवश्यक छ भन्ने कुरामा थप सांसद साथीहरुको पनि मन जित्न सक्छु भन्ने सोचेर, संकल्प गरेर निरन्तर रुपमा प्रयत्न गरिराख्छु।'
बुधबार भएको कांग्रेस संसदीय दलको निर्वाचनमा पराजित भएका गगन थापाले दिएको अभिव्यक्ति हो, यो। निर्वाचनमा शेरबहादुर देउवाले ६४ मत पाउँदा थापाले केवल २५ मत पाएका थिए। पत्रकारबाट घेरिएका थापाले देउवालाई बधाई मात्रै दिएनन्, फेरि छिट्टै संसदीय दलको नेताका लागि निर्वाचन हुने संकेत पनि गरे। उनको भनाइ छ, 'हाम्रो पाँच वर्षको संसदीय कार्यकाल भर्खर प्रारम्भ भएको छ। केही समयपछि फेरि निर्वाचन हुन्छ। फेरि प्रतिस्पर्धा हुन्छ।'
थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिँदा नै संसदीय दलको नेतृत्व भिन्न ढंगले गर्नुपर्छ भन्ने आफूलाई लागेको र अहिले पनि लागिरहेको बताए। उनले निर्वाचन परिणाम अपेक्षाकृत नआए पनि आफू नथाक्ने र निराश नहुने बरु अरु मेहनत गर्ने बताए।
'संसदीय दलको नेता बदलिनुपर्छ भन्ने मेरो अजेन्डा किन थियो, के कारणले थियो भन्नेचाहिँ थप साथीहरुको बीचमा निरन्तर लगिराख्छु', उनको भनाइ छ, 'मलाई विश्वास छ, कुनै एउटा बिन्दु आउँछ, समय आउँछ, त्यतिखेर पार्टीभित्रका बहुसंख्यक साथीहरुले महसुस गर्नुहुन्छ, मनन गर्नुहुन्छ। त्यो बेलामा सुखद परिणाम आउँछ भन्ने अपेक्षा गर्ने हो, प्रयत्न गर्ने हो।'
देउवाले बहुमत गुमाउलान्?
शेखर कोइराला र गगन थापा समूहका सांसद भनेर चिनिने ३० भन्दा बढी सांसद भएको र थापाको छवि र प्रयत्नका कारण केही थप सांसदले मत दिने अपेक्षा गरिएको थियो। त्यसैले, थापाले पाएको मत सोही समूहको आकलनभन्दा कम हो। थापाले आफूले पाएको मत अपेक्षाकृत नभएको बताइसकेका छन्।
जो देउवातिर लागे, उनीहरुलाई विभिन्न आश्वासन दिइएको विषय यसअघि नै छिटपुट रुपमा सार्वजनिक भइसकेका छन्। धेरैजसोलाई त मन्त्रीको प्रस्ताव नै गरिएको थियो। तर ती आश्वासन पूरा गर्न सक्ने अवस्थामा देउवा हुनेछैनन्। जसले गर्दा संसदीय दलमा उनलाई सहयोग गर्नेहरुले नै विकल्पको खोजी गर्न सक्छन्। कांग्रेस नेता तथा विश्लेषक शंकर तिवारी देउवाले सांसदहरुलाई दिएका विभिन्न आश्वासनका कारण उनी दबाबमा पर्दै जाने बताउँछन्।
देउवाले नसच्चिकन पुरानै शैलीमा काम गर्ने हो भने उनले अहिले पाएको बहुमत दुई वर्ष पनि टिक्छ जस्तो आफूलाई नलाग्ने तिवारीको विश्लेषण छ। 'देउवालाई पाँच वर्ष नै संसदीय दलको नेतामा टिक्न मुस्किल पर्छ', उनी भन्छन्, 'देउवाले कसरी टिमलाई मिलाएर जानुहुन्छ, त्यसले कसरी काम गर्छ, जनअपेक्षा अनुसार खरो उत्रिन सक्छ कि सक्दैन? उहाँले सांसदहरुलाई विभिन्न आश्वासनहरु दिनुभएको छ। उहाँहरुलाई कसरी थमाएर राख्न सक्नुहुन्छ? त्यसको परीक्षण सुरु भएको छ।'
पार्टीभित्रै पनि देउवाविरुद्ध कसिलो मोर्चा बन्ने देखिएको छ। महामन्त्रीद्वय थापा र शर्माले सरकारमा नजाने र पार्टीभित्रै भूमिका खेल्ने घोषणा गरिसकेका छन्। थापाको भनाइ थियो- 'म संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेपछि म फेरि त्यसकै लागि कोसिस गरिराख्छु। मेरो प्रयास त्यसकै लागि रहन्छ। सरकारमा अरु साथीहरु जानुहुन्छ, काम गर्नुहुन्छ।' यिनै पृष्ठभूमि र सन्दर्भसहित थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहितको बलियो प्रतिपक्षी मोर्चा तयार भएको विश्लेषण भइरहेको छ। त्यसलाई चिर्न देउवालाई हम्मे पर्ने आकलन गर्न सकिन्छ।
देउवालाई सकस हुने अभिव्यक्ति थापाले आजै दिइसकेका छन्। गठबन्धनका दलहरुबीच हुनसक्ने गोप्य सहमतितिर लक्षित गर्दै उनले त्यस्ता निर्णय कांग्रेसले नबोक्ने चेतावनी दिए। 'अँध्यारो कोठाभित्र बसेर नेताहरुले सहमति गर्नुहुन्छ भने त्यसलाई कांग्रेसले बोक्दैन। र भोलि नेपाली कांग्रेसले धोका दियो भनेर कसैले भन्न पाउनुहुन्न', उनको भनाइ थियो। थापाको अभिव्यक्तिले उनको समूहले अब खेल्ने भूमिकाको छनक पाउन सकिन्छ।
बीचमै नेता फेरिएका उदाहरण छन् कांग्रेसभित्रै
२०४८ यताका संसद्/संविधानसभाका निर्वाचनबाट गठन भएका कांग्रेस संसदीय दलमा बीचमा पटकपटक नेतृत्व फेरिएका उदाहरण छन्। २०४८ पछिको तीन वर्षे संसद्, २०६४ पछिको चार वर्षे संविधानसभा र २०७४ पछिको पाँच वर्षे संसद्मा मात्रै एउटै नेता कायम भएका थिए। बाँकी सबैमा संसदीय दलको नेता हेरफेर भएको देखिन्छ।
२०५१ को निर्वाचनपछि सुरुमा शेरबहादुर देउवा नै संसदीय दलको नेता थिए। संसद्को सोही कार्यकालमा पछि गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता भए। २०५६ को निर्वाचनपछि गठन भएको संसदीय दलमा त तीन जना नेता भए। सुरुमा कृष्णप्रसाद भट्टराई, बीचमा गिरिजाप्रसाद कोइराला र उनीपछि शेरबहादुर देउवा। यही अवधिदेखि (कोइरालाको पालामा) संसदीय दलको नेताका लागि प्रतिस्पर्धा हुन थालेको हो।
२०६४ को संविधानसभा निर्वाचनपछि रामचन्द्र पौडेल दलको नेता भए। संविधान सभाको सो कार्यकालभर उनी नै दलको नेता भए। २०७० मा सुशील कोइराला संसदीय दलको नेता भए। उनको २०७२ मा निधन भएपछि रिक्त पदको लागि भएको निर्वाचनमा देउवा विजयी भएका थिए। २०७४ को निर्वाचनपछि फेरि देउवा नै संसदीय दलको नेता भएका थिए।
स्वभाविक परिवर्तन मात्रै होइन, कांग्रेसभित्र संसदीय दलको नेता फेर्नका लागि अविश्वासको प्रस्ताव ल्याइएका उदाहरण पनि छन्। गिरिजाप्रसाद कोइरालाको योजामा दुई पटक अविश्वासको प्रस्ताव आएपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले संसद्बाट भावुक सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा नै दिएका थिए।
विगतका संसद्का कार्यकालमा भएका संसदीय दलको नेता परिवर्तनको उदाहरण दिँदै तिवारी भन्छन्- 'अहिलेको संसद्मा पनि त्यस्तै हुने सम्भावना देख्दैछु।'
देउवा निकट नेता तथा कांग्रेस प्रवक्ता प्रकाशशरण महत भने संसदको यो कार्यकालभर अर्कोपटक संसदीय दलको निर्वाचन नहुने दाबी गर्छन्। 'यो संसद्को कार्यकालमा संसदीय दलको अर्को निर्वाचन हुँदैन। आजको निर्वाचनको म्यान्डेट त्यही हो', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'गगन थापाज्यूको उम्मेदवारीलाई अस्वभाविक रुपमा लिएका छैनौँ। लोकतन्त्रको सहज प्रक्रियाको रुपमा लिएका छौँ। पार्टीभित्र सबै मिलेर अगाडि बढ्छौँ। गठबन्धन पनि पाँचै वर्ष चल्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।