काठमाडौं- विश्वकप २०२२ विजेता अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले आफूले राष्ट्रिय टिमबाट सन्यास नलिने बताएका छन्। च्याम्पियनका रुपमा देशबाट खेल्न चाहेको पनि उनले उल्लेख गरेका छन्।
आफ्नो अन्तर्राष्ट्रिय फुटबल करिअरमै सबैभन्दा प्रतिष्ठित पुरस्कार हासिल गरेका मेसीले अर्जेन्टिनाको खेल सम्बन्धी च्यानल टिवाइसी स्पोर्ट्ससँग भने, 'म राष्ट्रिय टोलीबाट सन्यास लिइरहेको छैन। च्याम्पियनको रूपमा राष्ट्रिय टिमबाट खेल जारी राख्न चाहन्छु।'
आफूलाई फुटबल मन पर्ने बताउँदै उनले प्रतिप्रश्न गरे, 'मलाई फुटबल मन पर्छ, म के गरुँ?,'
आफू राष्ट्रिय टोलीमा रहँदा रमाइलो महसुस गर्ने उनले बताए। 'र, विश्व च्याम्पियनको रूपमा केही थप खेलहरू अनुभव गर्न चाहन्छु,' उनले थपे।
मेसी अर्को विश्वकपमा ३९ वर्ष पुग्नेछन् र उनले यसअघि कतारमा हुने यो संस्करण आफ्नो अन्तिम हुने संकेत गरेका थिए। प्रशिक्षक लियोनल स्कालोनीले अमेरिका, क्यानडा र मेक्सिकोमा सन् २०२६ मा हुने प्रतियोगिताका लागि मेसीलाई आफ्नो टोलीमा ठाउँ सुरक्षित नै राखेको बताएका छन्।
'सबैभन्दा पहिले हामीले उनलाई अर्को विश्वकप २०२६ को लागि ठाउँ राख्नुपर्छ,' उनले भने, 'यदि उनी खेलिरहन चाहन्छन् भने उनी हामीसँग हुनेछन्। उनी अर्जेन्टिनाका लागि खेलिरहन चाहन्छन् वा चाहन्नन् वा उनी आफ्नो करिअरलाई के गर्न चाहन्छन् भन्ने निर्णय गर्ने अधिकार उनलाई नै छ।'
मेसी र उनका सहकर्मीलाई आफूले प्रशिक्षण दिन पाउनु आफ्ना लागि निकै ठूलो खुसीको कुरा रहेको दोहोर्याएका छन्। सहकर्मीसँगको व्यवहार र सहकार्यबाट आफू निकै प्रभावित भएको बताउँदै अतुलनीय भनेका छन्।
विश्वकपलाई मेसीले भगवानले आफ्ना लागि ल्याइदिएको सुन्दर उपहारको संज्ञा दिएका छन्। उनले भनेका छन्, 'मलाई थाहा थियो कि भगवानले मलाई यो उपहार ल्याउनुहुनेछ, यही विश्वकप नै हो त्यो उपहार हो भन्ने महसुस पनि भइरहेको थियो।'
आफूहरुले यो समयका लागि निकै संघर्ष गरेको उनले उल्लेख गरेका छन्। 'हामीलाई समय लाग्यो। संघर्ष पनि निकै गर्यौं तर हासिल गर्न सफल भयौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।