काठमाडौं– सन् १९८२ को ‘फकल्याण्ड वार’ मा बेलायतको तर्फबाट गोर्खालीले युद्ध नलडिदिएको भए अर्जेन्टिनालाई हराउन मुस्किल पर्ने ‘वार भेट्रान’ बुद्धिराज राईले बताएका छन्। एउटा टापुको विषयलाई लिएर बेलायत र अर्जेन्टिनाबीच विवाद हुँदा बेलायतको तर्फबाट युद्ध लड्न ६५८ जना नेपालीहरू त्यहाँ पुगेका थिए।
ब्रिटिश–गोर्खामा भर्ती भएका नेपालीहरूले नै त्यो युद्ध जितेर बेलायतलाई उपहार दिएका थिए। युद्धमा बेलायती सेनाको भन्दा अर्जेन्टिनी सेनाको हतियार र पूर्वाधार राम्रो थियो। तर, गोर्खाली सेनाले ३ महिना लामो अनवरत युद्धपछि उनीहरूलाई हराएका थिए।
‘युद्धका क्रममा हामीले थुप्रै अर्जेन्टिनी सेनाका जवान तथा अफिसरहरू पक्राउ गरेका थियौं,’ उनले नेपाल लाइभलाई अन्तर्वार्ता दिँदै भने, ‘हाम्रो विषयमा उनीहरूले पहिले नै जानकारी पाइसकेका रहेछन्। हामी फकल्याण्डमा नउत्रिएको भए बेलायतले कुनै पनि हालतमा युद्ध जित्न सक्दैनथ्यो भन्थे।’
अर्जेन्टिनीहरूलाई बेलायती सेनाको तर्फबाट गोर्खालीहरूले युद्ध लडेको हुनाले नेपालप्रति चित्त दुःखाइ थियो। तर ती कुराहरू नबुझेर उनीहरू रिसाएको राईको भनाई छ। ‘बेलायती सेनामा हाम्रो भर्ती वैधानिक भइसकेपछि युद्ध लड्न जहाँ पनि जानै पर्यो नि,’ उनले भने।
अर्जेन्टिनाविरूद्ध युद्ध लडे पनि फुटबलमा अर्जेन्टिनाकै समर्थक रहेको राईको भनाइ छ। उनलाई मनपर्ने खेलाडी अर्जेन्टिनाकै डिएगो म्याराडोना हुन्। उनी कतारमा जारी विश्वकपमा अर्जेन्टिनी टोलीको कप्तान रहेका लिओनल मेसीको पनि प्रसंसक हुन्। उनी यो विश्वकप अर्जेन्टिनाले जितोस् भन्ने कामना गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।